मेयर शमशेर लामा झ्यापुराम चेपाङलाइ भेट्न स्यामराङ

spot_img

राप्ती — झ्यापुराम चेपाङ पञ्चायतकालमा मात्रै नभएर बहुदल आएपछि पनि चितवनको जनप्रतिनिधि भएका अति सीमान्त वर्गको आदिवासी चेपाङ समुदायका अगुवा हुन् । पूर्व–पश्चिम महेन्द्र राजमार्गमा पर्ने भण्डारा बजारबाट उत्तर धादिङसँग सिमाना जोडिएको चितवन लोथरको विकट पहाडी गाउँ स्यामराङमा छ उनको सानो घर । सो पुरानो घरको साँघुरो पिँढीमा आइतबार चितवनका जनप्रतिनिधिको बाक्लै उपस्थित थियो ।

चितवन जिल्ला समन्वय समिति (जिसस)का प्रमुख नारायणप्रसाद अधिकारी, उपप्रमुख कल्पना काफ्ले सापकोटा, राप्ती नगरपालिकाका मेयर शमसेर लामा, राप्ती नगरपालिका–१३ का अध्यक्ष अशोक चेपाङ, वडा नम्बर ७ की वडाध्यक्ष सुनिता डल्लाकोटीको टोली झ्यापुरामको घर पुग्यो । टोलीमा जिसस सदस्यहरू गुनु विश्वकर्मा, पुजना गुरुङ, अनिता नेपाल, कृष्णभक्त भट्टराई र सञ्जीव पौडेल पनि सहभागी थिए ।

राप्ती नगरपालिकाको भण्डाराबजारबाट गाडीमा हिँडेको तीन घण्टापछि झ्यापुरामको गाउँ पुगिन्छ । थोरै पक्की र अधिकांश कच्ची बाटो हुँदै स्यामराङमा गाडी पुगेको भर्खर–भर्खर मात्र हो । नभए भण्डारा आउजाउ गर्न पूरै दिन बिताएर पैदल हिँड्नु पर्दथ्यो । हाल राप्ती नगरपालिकाको वडा नम्बर १३ मा परेको स्यामराङ पहिला तत्कालीन लोथर गाउँ विकास समितिमा थियो । झ्यापुराम लोथरका संस्थापक प्रधानपञ्चसमेत हुन् ।

कुनैबेला धादिङ जिल्लाभित्र पर्ने स्यामराङ ३५ सालमा चितवनको लोथर गाउँ पञ्चायतभित्र प¥यो । चितवनमा लोथर गाउँ पञ्चायत सोही वर्ष कायम भएको थियो । र, त्यो वर्ष भएको स्थानीय निर्वाचनमा झ्यापुराम प्रधानपञ्चमा निर्वाचित भए । चितवन जिससको रेकर्डअनुसार त्यसपछि झ्यापुरामको जनप्रतिनिधि यात्रा बहुदल आएपछि ४९ सालमा भएको स्थानीय निर्वाचनसम्म कायम रह्यो ।

‘प्रधानपञ्च, जिल्ला पञ्चायत र जिल्ला विकास समिति सदस्यसमेत हुनुभएका झ्यापुरामजीको चितवनको राजनैतिक विकासमा महत्त्वपूर्ण देन छ । चेपाङलाई सबैले पछाडि परेको जाति भन्छन् । तर उहाँले जनप्रतिनिधि भएर आफ्नो समुदायका लागि मात्रै हैन चितवनकै विकासका लागि काम गर्नु भएको छ,’ जिसस प्रमुख नारायणप्रसाद अधिकारीले भने । जिसस र राप्ती नगरपालिकाको टोली झ्यापुरामलाई सम्मान गर्न पुगेको हो ।

१९९३ सालमा जन्मेका झ्यापुराम वृद्ध हुँदै गएका कारण अलि कमजोर छन् । शनिबार राति उनी बिरामी परेछन् । त्यसैले सम्मान गर्न गएको टोली उनको घरै गयो । आडैमा दुङबाङ राष्ट्रिय आधारभूत विद्यालय छ । २०२६ सालमा झ्यापुरामकै सक्रियतामा खुलेको हो सो विद्यालय । सोही विद्यालय प्राङ्गणमा झ्यापुरामको सम्मान गर्ने कार्यक्रम थियो ।

तर बिरामी परेर खाटबाट तल झर्न पनि गाह्रो हुने भएपछि घरमै पुगेर टोलीले उनको सम्मान ग¥यो । झ्यापुराम ३५ सालपछि ४३ सालमा भएको स्थानीय निर्वाचनमा पनि लोथरको प्रधानपञ्च चुनिए । ३७ सालमा गठन भएको तत्कालीन चितवन जिल्ला पञ्चायत समितिमा उनी सदस्य भए । ३९ सालको जिल्ला पञ्चायत समितिमा पनि उनी सदस्य भए । बहुदल आएपछि ४९ सालमा भएको जिल्ला विकास समितिको निर्वाचनमा उनी सदस्यमा निर्विरोध चयन भए ।

राजनीतिमा मात्रै नभएर उनको सामाजिक सेवामा पनि ठूलो भूमिका रहेको दुङबाङ राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक अतिबल चेपाङले बताए । ‘यो स्कुल खोल्न मात्रै हैन लोथर क्षेत्रमा खुलेका अन्य तीनवटा विद्यालय पनि उहाँकै सक्रियता र संरक्षकत्वमा बाँचेका छन्,’ प्रधानअध्यापक अतिबल चेपाङले भने । गाउँमा खाने पानी ल्याउन र बाढी पहिरो रोक्न वृक्षारोपण गरेका उनको चर्चा काठमाडौंसम्म पुग्यो ।

झ्यापुरामले २०३१ सालमा तत्कालीन राजा वीरेन्द्रबाट शुभ–राज्याभिषेक पदक पाए । ‘चेपाङहरू चितवनको पहाडी क्षेत्रका आदिवासी हुन् । पहाडमा धेरै खाले समस्याहरु छन् । तर ती समस्याविरुद्ध झ्यापुरामले गरेको संघर्ष उदाहरणीय छ । त्यसैले हामीले उहाँलाई सम्मान ग¥यौं,’ राप्ती नगरपालिकाका मेयर शमसेर लामाले भने । गाउँमै बसेर गाउँकै लागि जीवन अर्पण गरेका झ्यापुरामको सिकै सबै जनप्रतिनिधिले गर्नु पर्ने उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार