रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा रहेको एक फेन्सी पसलमा आगलागी भएको छ । रत्ननगर वडा नं २ सिनेमा रोडमा रहेको भण्डारी फेसन कलेक्सनमा मंगलबार राति करिब ८ बजेको समयमा आगलागी भएको हो । आगलागीबाट लाखौँ मूल्यको सामान जलेर नष्ट भएको पीडितले बताएका छन् । नेपाल प्रहरीको सहायतामा ३ वटा वारुण यन्त्रको प्रयोग गरेर आगलागी नियन्त्रणमा लिइएको हो । पसलभित्रको बिजुलीको तार सट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । आगलागीबाट ३५ लाखभन्दा बढीको क्षति भएको फेन्सी सञ्चालक उमेश भण्डारीले जानकारी दिए । आगलागी भएको खबर थाहा पाएपछि उद्योग वाणिज्य संघ रत्ननगरका अध्यक्ष शंकर गिरी, उपाध्यक्ष हरि अधिकारीसहितको टोलीले स्थलगत निरीक्षण गरी पीडितसँग भेट गरेको छ । भेटमा अध्यक्ष गिरीले संघबाट गर्न सक्ने सहयोग गर्ने प्रतिबद्वता व्यक्त गरे ।