सेतो नेपाल-
खैरहनी, ३२ साउन । खैरहनी नगरपालिकाले नगर क्षेत्रभित्रका मासुपसलमा छड्के अनुगमन गरेको छ । उपप्रमुख कविता उप्रेतीको नेतृत्वमा गएको टोलीले नगरक्षेभित्रको दशवटा मासु पसलमा अनुगमन गरेको हो । दशवटा मासु पसलमा गरेको अनुगमनमा ३ वटा पसल मापदण्ड विपरित पाइएको नगर उपप्रमुख उप्रेतीले बताउनुभयो । यस अघि गरिएको अनुगमनमा मासु पसललाई मापदण्ड अनुसार संचालनगर्न सुझाव दिएको थियो । नगरपालिकाले दिएको सुझाव पालना नगर्ने ३ वटा मासु पसललाई मापदण्डमा नआए सम्म मासु बेचविखनगर्न नगर्न निर्देशन दिएको छ । अनुगमनको क्रममा धेरै मासु पसलहरुमा मासु काट्ने ठाउँ र मासुलाई प्रिजीङगर्ने ठाउँमा फोहोर देखिएको छ । टोलीले मासु पसलललाई सरसफाईमा ख्याल राखेर मात्रै व्यापार व्यवसाय गर्न सुझाव दिँदै हिडेको छ । मानविय स्वास्थ्य प्रति सचेत नहुने पसललाई थप कार्वाहीगर्ने नगर उपप्रमुख उप्रेतीले बताउनुभयो । अनुगमनको क्रममा २५ किलोबढी खसीबोकाको पुरानो (सडेगलेको )मासु टोलीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएको मासु आजै नगरपालिकाले खाल्डो खनेर पुरेको छ । यस अघि हिजोमात्रै नगरपालिकाको टोलीले नगरक्षेत्रभित्रका होटलहरुको अनुगमन गरेको थियो । उपप्रमुख उप्रेतीको नेतृत्वमा गएको टोलीले नगरक्षेत्रभित्रका २ वटा स्कुलका क्यान्टीन सहित १५ वटा होटलको अनुगमन गरेको थियो । नगर क्षेत्रभित्रका १५ वटा होटल अनुगमन गर्दा होटल क्षेत्रको अवस्था सन्तोषजनक देखिएको नगर उप प्रमुख उप्रेतीले बताउनुभयो । नगरक्षेत्रभित्र व्यापार व्यवसायका लागि खुलेका होटल तथा मासुपसलहरु प्राय दर्ता भएको भेटिएको छ । यस अघि अनुगमनगर्दा कतिपय दर्ता नभएका दर्ता भएर पनि कतिपय पसलहरु नविकरण नभएको भेटिएको थियो । अहिले त्यस्तो अवस्था भेटिएन उपप्रमुख उप्रेतीले भन्नुभयो – अहिले यो पाटो सुधार भएको देखिन्छ । उपप्रमुख सहित वडा अध्यक्ष शंकर कडेंल, खाद्य निरीक्षक बन्दना पन्त लगायतका टोलीले बजार अनुगमन गरेको हो । होटल, मासुपसल पछि नगरक्षेत्रभित्रका खाद्यन्न पसलहरुको समेत अनुगमनगर्ने नगरपालिकाको तयारी छ ।
खैरहनीमा दशवटा मासुपसल अनुगमनगर्दा ३ वटा मापदण्ड विपरित भेटियो
