यातायातको समस्याबारे सांसद् ढकालको ध्यानाकर्षण, पूर्वी चितवनवासी आन्दोलनमा उत्रिने

रत्ननगर । चितवन क्षेत्र नं १ का संघीय सांसद् हरि ढकालले पूर्वी चितवनबाट जाने सवारीसाधनलाई भरतपुर बसपार्क अगाडि जान नदिने सम्बन्धमा भरतपुर महानगरले २०७९ मंसिर १९ मा निर्णय गरेपछि पूर्वी चितवनका आमनागरिकले बेहोर्नुपरेको सास्तीबारे आफ्नो ध्यानाकर्षण भएको जनाएका छन् ।

भरतपुर महानगरपालिकाले पूर्वी क्षेत्रबाट आउने सार्वजनिक यातायातका साधानहरु (विशेषतः मिनीबस, म्याजिक तथा नारायणगढसम्म सञ्चालन हुँदै आएका हेटौँडा तथा वीरगन्जबाट चल्ने बसहरु) केन्द्रीय बसपार्कसम्म मात्र चल्न पाउने प्रावधान राखेपछि सरोकारवाला सबै पक्षले समस्या समाधानका लागि आवश्यक सहजीकरणका लागि प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएका थिए ।

तर, जिल्ला प्रशासन कार्यालयमा पटकपटक ध्यानाकर्षण गराएको आठ महिना बितिसक्दा पनि कुनै सुनुवाइ नभएको भन्दै सांसद् ढकालले गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।

उनले ध्यानाकर्षण पत्रमा भनेका छन्, ‘भरतपुर र नारायणगढमा रहेका अस्पताल, क्याम्पस, व्यवसाय र रोजगारीका लागि दैनिक आवतजावत गर्दा यातायातको साधन परिवर्तन गरी सकसपूर्ण तवरले गन्तव्यमा पुग्नुपर्दा यातायात खर्च बढ्नुका साथै असहज र असुविधा भएको छ ।’

उनले सार्वजनिक यातायात प्रयोग गरी गन्तव्यमा पुग्न पाउने अधिकारको सुनिश्चितताका साथ तत्काल समस्याको समाधान खोज्न सम्बन्धित पक्षसँग आग्रह गरेका छन् ।

यसैगरी, रास्वपा चितवनका संयोजक कृष्णप्रसाद भूषाल, रत्ननगर नगर सभापति रामनाथ भट्टराई, खैहरनी नगर सभापति राज सिलवाल, राप्ती नगर सभापति तिलक कार्की र कालिका नगर सभापति उमाकान्त बरालले संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै समस्त पूर्वी चितवनवासीले सार्वजनिक यातायात प्रयोग गर्दा पाएको सास्तीबारे सम्बन्धित पक्ष र जिल्ला प्रशासन कार्यालयले कुनै सुनुवाइ नगरेको विषयमा ध्यानाकर्षण भएको जनाएका छन् ।

नागरिकको चासोप्रति सम्बन्धित पक्षले चासो नदेखाएपछि शुक्रबार सांसद् हरि ढकालको पहलमा सार्वजनिक यातायातलाई नारायणगढसम्म लैजाने प्रयास गरेकोमा स्थानीय प्रशासनले धरपकड र अवरोध सिर्जना गरेकोमा विज्ञप्तिमार्फत निन्दा र भत्र्सना गरिएको छ ।

विज्ञप्तिमा साउन ३० गतेसम्म पनि उक्त समस्याको समाधान नखोजिएको खण्डमा साउन ३१ गतेदेखि पूर्वी चितवनवासी सशक्त र निर्णायक आन्दोलनमा उत्रिने र सो आन्दोलनमा रास्वपा पूर्वी चितवनवासीको पक्षमा रहने प्रतिबद्धता जनाइएको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार