सांसद् ढकालको दौडधुप : योजना बनाउँदा समन्वय नगरेको स्वीकार – स्थानिय सरकारसंग सहकार्य गर्न प्रमुख लामाको अनुरोध

 

राप्ती । चितवन निर्वाचन क्षेत्र नम्बर १ का सांसद् हरि ढकाल आफ्नो निर्वाचन क्षेत्रमा दौडधुपमा व्यस्त देखिन्छन् । उनी चितवन आएका बेला आफ्ना क्षेत्रका जनतासँग भेटघाट, छलफल, गुनासो सुन्ने कामका लागि दौडिरहेका हुन्छन ।

संसद् बैठक चलेको बेलाबाहेकको समयमा उनी प्रायः यहाँ आउने गर्छन् । आफ्नो निर्वाचन क्षेत्रअन्तर्गत पर्ने खैरहनी नगरपालिकाका विभिन्न ठाउँमा पुगेर बुधबार भेटघाट गरेका उनी बिहीबार राप्ती नगरपालिकाका कार्यक्रमहरुमा देखिए ।

आफू निर्वाचित भएको आठ महिनापछि पहिलोपटक राप्ती नगरपालिकामा औपचारिकरुपमा पुगेका सांसद् ढकालले बजेट निर्माणका बेला समन्वय गर्न नसकेको स्वीकार गरे । बजेट तथा योजना बनाउने समयमा हाम्रो सहकार्य हुनुपथ्र्यो, हुन नसक्नु कमजोरी रह्यो’, सांसद् ढकालले भने, ‘आगामी दिनमा पालिकाहरुसँग समन्वय गरेर अघि बढ्ने छु, ऋटि हुनेछैन ।’

स्थानीय पालिकाले सांसद्प्रति गर्ने अपेक्षा तथा सहकार्य हुन नसकेको उनको गुनासो थियो । सहकार्य नभए पनि पुरानो योजनाहरु क्रमागत बजेट रहेको ढकालले बताए । क्षेत्रको विकासका लागि तिनै तह मिल्नुको विकल्प नरहेको उनको भनाइ थियो ।

स्वतन्त्र पार्टीले चुनाव जितेपछि यहाँ पालिकाले आफूसँग सहकार्य र समन्वय नगरेको सङ्केत गर्दै सांसद् ढकालले भने, ‘स्थानीय तह, प्रदेश, संघबीच तालमेल नभए विकास सम्भव छैन, हातेमालो आवश्यक छ ।’ यसवर्ष थप योजना ल्याउन नसके पनि आगामी वर्ष तीनवटै तह मिलेर योजना ल्याउने उनले बताए । तर, आफ्नो नाम भजाएर योजना तथा बजेट नल्याउने उनको भनाइ थियो ।

‘अहिलेसम्म नाम भजाएर यति बजेट र योजना ल्याएको भनियो, म त्यो हुन दिन्नँ । एक रूपैयाँ पनि मेरा कारण आएको भन्दिनँ’, सांसद् ढकालले भने । समान विकासका लागि आफू निर्वाचित भएपछि एक भोट पनि नपाएको वडा राप्ती–१३ बाट काम थालिएको उनले सुनाए ।

सो अवसरमा नगरपालिकाले औपचारिकरुपमा सांसद् ढकाललाई स्वागत गरेको थियो । प्रमुख प्रशासकीय अधिकृत निलमकुमार न्यौपानेले टीका लगाउनुका साथै नगरप्रमुख लामाले पुष्पगुच्छा दिएर स्वागत गरेका थिए ।

प्रमुख प्रशासकीय अधिकृत निलमकुमार न्यौपानेले स्वागत मन्तव्य राखेको कार्यक्रममा राप्ती–७ की वडा अध्यक्ष सुमिता डल्लाकोटी, १० का वडा अध्यक्ष तेजबहादुर तामाङ, ११ का वडा अध्यक्ष बुद्धिबहादुर स्याङ्तान, १२ का वडा अध्यक्ष अर्जुन प्रजा र १३ का वडा अध्यक्ष अशोक प्रजालगायत स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्ता सहभागी थिए ।

पालिकाले गरेका बिकासका काममा समन्वय गर्न सांसद ढकाललाइ नगर प्रमुख लामाको आग्रह
राप्ती नगरपालिका प्रमुख शमशेर लामाले शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता दिएर काम गरिरहेको बताए । शिक्षाको सुधारका लागि दिवा खाजादेखि निःशुल्क शिक्षा लागू गरिएको, स्वास्थ्य क्षेत्रको सुधारमा नगर अस्पताल व्यवस्थित गर्नेदेखि स्वास्थ्य बिमा लागू भएको प्रमुख लामाले बताए । ‘केही गर्ने हुटहुटी छ, सुधारको सङ्केत देखिँदैछ’, नगरप्रमुख लामाले भने, ‘नगरवासीलाई अनुभूति हुने गरी शिक्षा, स्वास्थ्य क्षेत्र प्राथमिकतामा छ, त्यसमा पहाडी वडालाई विशेष ध्यान दिइएको छ ।’ नगरप्रमुख लामाले बजार व्यवस्थापनको काम सुरू भएको उल्लेख गर्दै नगरको मुटुमा रहेको नहर विभागको जग्गा खाली गर्ने अभियानमा आफू लागेको बताए । नगरको विकासको लागी पालिकाले चालेका कदममा माननिय ज्युले समन्वय गरिदिनु पर्छ लामाले भने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार