चितवन । भरतपुरको मनकामना अस्पताललाई स्वास्थ्य कार्यालय चितवनले पत्र काटेको छ । शनिबार गर्भपतन गराउने क्रममा एक महिलाको मृत्यु भएपछि कार्यालयले अस्पताललाई घटना विवरणबारे लेखी पठाउन पत्र काटेको हो । कार्यालयका जनस्वास्थ्य नर्स नन्दकली चापागाईका अनुसार बिरामी भर्ना भएदेखि मृत्युसम्मको घटनाविवरण आजै पठाउन अस्पताललाई भनिएको छ । भरतपुर महानगरपालिका वडा नं. २६ की ३५ वर्षिया नविना महतोको शनिबार उपचारको क्रममा मृत्यु भएको थियो । उनको मृत्यु भएपछि परिवारले चिकित्सकको लापरवाहीका कारण मृत्यु भएको भन्दै अस्पताल घेराउ गरेका थिए । घटनापछि मृतकका आफन्त र अस्पताल प्रशासनबीच भएको वार्तापछि अस्पतालले २७ लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति दिएको छ । सो अस्पताललाई गर्भपतन गराउने अनुमति नभएको भन्दै चौतर्फी आलोचना समेत भएको छ । स्वास्थ्य कार्यालयमा गर्भपतन गराउन अनुमति लिएका अस्पतालको सूचिमा मनकामना अस्पताल पर्दैन । सो अस्पतालमा करिब चार महिनाको गर्भ पतन गराउने क्रममा महिलाको मृत्यु भएको थियो ।