नेपालका प्रायः जिल्लाहरुमा अहिले डेंगु रोगको सङ्क्रमण फैलिन थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘सर्च एन्ड डिस्ट्रोय’ अभियान सुरू गरेको छ । प्रदेश तथा स्थानीय तहहरुमा पनि यो अभियानले तीव्रता पाएको छ । नेपालमा तीन प्रजातिका लामखुट्टे पाइन्छन् । तीमध्ये एडिस एजेप्टाइ नामक पोथी लामखुट्टेको टोकाइबाट डेंगु रोग लाग्छ । डेंगु रोग पनि तीन प्रकारका हुन्छन् । पहिलो साधारण, दोस्रो हेमरेजिक र तेस्रोलाई डेंगु सक सिन्ड्रम भनिन्छ । तीनै प्रकारका डेंगुमध्ये दोस्रो र तेस्रो प्रकारका डेंगु बढी खतरनाक मानिन्छ । पहिलो प्रकारको डेंगु उपचारबिना आफैँ पनि ठीक हुनसक्छ र यो डेंगुले मानिस मर्ने सम्भावना कमै हुन्छ । तर, दोस्रो र तेस्रो प्रकारको डेंगुको लक्षण देखिँदा तत्काल उपचार नगर्ने हो भने मानिसको मृत्युसमेत हुनसक्छ । त्यसैले सबैभन्दा पहिले डेंगुको सङ्क्रमण कुन प्रकारको हो भन्ने यकिन गर्नुपर्छ । पोथी लामखुट्टेलाई पर्याप्त फुल पार्नका लागि प्रोटिन चाहिन्छ । त्यसैका लागि मानिसलाई टोक्ने गर्छ । डेंगु ज्वरो सामान्य लाग्ने गरे पनि यसको प्रकोपबाट मानिसको ज्यानसमेत जानसक्छ । डेंगुको सङ्क्रमण जटिल बन्दै गएपछि मानिसको विभिन्न अङ्गहरु मिर्गौला, कलेजो, मुटुमा असर पुग्न गई मानिसको मृत्युसमेत हुनसक्छ ।
डेंगु रोगको अहिलेसम्म कुनै पनि उपचार छैन । यस रोगको खोप तथा एन्टीभाइरल औषधि पनि बनेको छैन । डेंगु ज्वरो नियन्त्रणका लागि शुद्ध सिटामोलको प्रयोग गरिन्छ । जटिल अवस्था आएमा आयसियू वा भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने हुन्छ । तर, औषधि भनेकै सिटामोल मात्र हो । एडिस एजेप्टाइ प्रजातिको पोथी लामखुट्टे जसलाई ‘टाइगर मस्क्युटो’ पनि भन्ने गरिन्छ । सेतो–कालो छिर्केमिर्के रङ्गको यो लामखुट्टेले एक हजार बढी फुल पार्न सक्छ । एउटा सङ्क्रमित लामखुट्टेले पारेको फुलबाट लार्भा, प्यूपा हुँदै लामखुट्टे बन्ने प्रक्रियासम्म पनि सङ्क्रमण रहिरहने भएकाले लामखुट्टेको टोकाइबाट बच्नु नै एकमात्र विकल्प हो । एडिस एजेप्टाइ नामक लामखुट्टेले प्रायःजसो बिहानको उज्यालो, दिउँसो र बेलुकीपख बढी टोक्छ । बर्खाको समय अर्थात साउनदेखि कात्तिकसम्म यो लामखुट्टे निकै ठूलो परिमाणमा देखापर्छ । पानी जम्ने अवस्था सिर्जना भएमा यो लामखुट्टे जुनसुकै मौसममा पनि देखा पर्न सक्छ ।
डेंगु एउटा रोगीबाट अर्को रोगीमा फैलने रोग हो । यो भाइरस फैलाउन एडिज एजेप्टाइ लामखुट्टेले सहयोग गर्छ । एउटा डेंगु भएको सङ्क्रमितलाई टोकेपछि अर्को स्वस्थ मानिसलाई टोक्दा यो रोग फैलिन्छ । तर, यो रोग मानिसबाट मानिसलाई भने सर्दैन । त्यसैले लामखुट्टेको टोकाइबाट बच्नु नै डेंगुबाट जोगिने उत्तम उपाय हो । खासगरी बालबालिकालाई यो रोगको जोखिम बढी हुन्छ । एडिस लामखुट्टेले टोकेको ३ देखि ५ दिनभित्रमा डेंगु ज्वरोको लक्षण देखा पर्न थाल्छ । कतिपयको शरीरमा यो रोगको लक्षण दुई सातासम्म पनि देखिन सक्छ । एक्कासि उच्च ज्वरो आउने, टाउको, मांसपेशी तथा शरीरका जोर्नीहरु दुख्ने, कमजोर महसुस हुने, भोक नलाग्ने, आलस्य बढ्ने, खानाको स्वाद हराउने, अनुहार, गर्दन तथा छातीमा हल्का रातो रंग देखिएमा डेंगुको सङ्क्रमण भएको बुझ्नुपर्छ । अलि जटिल अवस्थामा नाक तथा गिँजाबाट रगत आउने, दिसा वा वान्ता गर्दा रगत देखिने, शरीर चिसो हुने, होस गुम्ने, बिर्सने, रक्तचाप अचानक घट्नेजस्ता लक्षण देखिन्छन् भने कतिपय अवस्थामा ‘मल्टी अर्गान फेलियर’ भई बिरामीको मृत्यु हुन्छ । रोग लागेर उपचार गराउनुभन्दा रोगै लाग्न नदिनेतर्फ ध्यान दिनु बुद्धिमानी कार्य हो । त्यसैले झ्यालढोकामा जाली राखौँ, सुत्दा झुलको प्रयोग गरौँ र लामखुट्टेको बासस्थान नै नष्ट गरौँ ।