चितवनमा लम्पी स्किनविरुद्ध खोप अभियान सञ्चालन गरिने चितवन, साउन १७

spot_img
चितवनमा लम्पी स्किनविरुद्ध खोप अभियान सञ्चालन गरिने
चितवन, साउन १७

चितवनमा पशुचौपायमा देखिएको लम्पी स्किन रोग नियन्त्रणका लागि खोप अभियान शुरू गरिने भएको छ । साउन २५ गतेदेखि साताव्यापी रूपमा खोप अभियान सञ्चालन गर्न लागिएको हो । प्रदेश सरकारको सहयोगमा खोप अभियान सञ्चालन गर्न लागिएको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र भरतपुरका पशुविकास अधिकृत डा. रामचन्द्र आचार्यले बताए । उनका अनुसार प्रदेश सरकारबाट प्राप्त खोपलाई सातै पालिकामा वितरण गरी पशुलाई लगाइन्छ । प्रदेश सरकारले १३ जिल्लामा नै अभियानका रूपमा लम्पी स्किन विरुद्धको खोप लगाउन लागेको उनले जानकारी दिए ।
अभियानका लागि २२ गतेसम्म खोप जिल्लामा आइपुग्ने आचार्यले बताए । उनले भने, ‘अहिले ५ हजार डोज खोप आउने अनुमान गरेका छौं ।’ प्रदेश सरकारले अभियानका रूपमा खोप कार्यक्रम सञ्चालन गरेको हुँदा पछि पुनः थप हुन सक्ने उनले बताए । सातै पालिकामा पालिएका गाईभैंसीमा खोप लगाइने छ । रोग लागिसकेका, गोठमा रोग देखिएका पशुहरूलाई खोप नलगाइने उनले जानकारी दिए । उनले थपे, ‘स्वस्थ पशुलाई खोप लगाइन्छ ।’ जिल्लाका पालिकाहरूको सक्रियतामा खोप लगाइँदै आएको छ । यसलाई सहयोग पुर्‍याउने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको हो । जिल्लामा हालसम्म १८ हजार ५९० पशुलाई लम्पी स्किन विरुद्धको खोप लगाइएको छ । भरतपुर महानगरपालिकामा ३ हजार ७९०, खैरहनी नगरपालिकामा ३००, राप्ती नगरपालिकामा ६ हजार र रत्ननगरमा ८ हजार ५०० पशुमा खोप लगाइएको उनले जानकारी दिए । जिल्लामा हालसम्म ११ हजार १८५ गाईभैंसीमा यो रोग देखिएको छ । कार्यालयको तथ्यांकअनुसार हालसम्म २८७ गाई लम्पी स्किनबाट मरिसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार