आज खीर खाने दिन

 

सुरुवात गरौँ एउटा उखानबाट

“यी छोराछोरी बढ्लान् कमाई गर्लान् दूध-भात देलान् मलाई”

उपर्युक्त उखान आमाबुवाले आफ्ना छोराछोरीप्रति आफ्नो भविष्यको शिथिल शरीर र वृद्ध उमेरमा पाउने माया स्याहार र प्रेमको अपेक्षा दर्साउन सदियौँदेखि पुस्ता दर पुस्ता सुनिँदै आइएको हो । दूध-भात अर्थात् मिठो र पोसिलो खानेकुरा अनि यही हाम्रो सर्वप्रिय दूधभातसंग सख्खर अथवा गुँडको संयुक्त पाकपछि तयार हुने परिकार हो, खिर । सकेसम्म बासमती अथवा तराईमा फल्ने करिया कामत होस् वा टाइचून अथवा अन्य मसिनो बास्नादार चामल त्यो नभए आफूसँग भएको चामलमा दूध हालेर किसमिस, काजू, नरिवल, छोकडा जस्ता विशेष मरमसला आदि हालेर खिर बनाइन्छ । अपरिहार्य परिकारको रूपमा खिर नेपाली चलनचल्तीमा खिर विभिन्न उत्सव, चाडबाड, पूजाआजा, बिहे-वर्तमनमा महत्वका साथ पस्किने गरिन्छ । यो नेपाली परिवारको अपरिहार्य परिकारको रूपमा नेपालीहरूबिच लोकप्रिय सांस्कृतिक पकवानको रूपमा परिचित छ । साल या भोर्लाको ठूल्ठूला पातलाई बाँसका कप्टेराका मसिना काँटी (छेस्का)हरुले गाँसेर बनाइएको हरिया दुना टपरीमा हालेर खाँदा पातको बास्ना र खिरको स्वाद अनि त्योसँगै सेल रोटीको नामै मात्रले पनि हामीमध्ये धेरैको जिब्रो रसाएर आउँछ। मानव सभ्यतासँगै मानव र दूधको एउटा नमेटिने सम्बन्ध छ र यसबाट बन्ने कैयन मिठा परिकारहरू विशेषतः शुद्धता, स्वास्थ्य र विशिष्ट स्वाद कालागि विश्व समूदायमै प्रिय बन्न सफल छ । यस्तै परिकारहरूमध्ये अन्न र दूधको अनुपम सम्मिश्रण यस परिकारमा भोजन, पोषण नै यसको आकर्षण हो । सेतो दूध र सेतो चामल मिसाइएको यो भोजनको सम्बन्ध देवताहरूले प्राचिनकालमा गरेको समुन्द्रमन्थनसंग सम्बन्धित छ, त्यस बेलादेखि अहिलेसम्म दूधलाई शुद्धीकरण गर्ने तत्त्व र पोषण मिसिएको बहू गुणी अमृतकै रूपमा लिइन्छ । आर्यूवेदमा समेत खिरलाई प्राचीन भोजनको रूपमा व्याख्या गरिएको छ । खिर शब्द पनि संस्कृत शब्द ‘क्षीर मा’बाट आएको मानिन्छ । क्षीर मा अर्थात् दूध र अन्नबाट बनेको परिकार भन्ने अर्थ लाग्दछ । रोमन सभ्यतामा पनि खिरलाई खानाको एउटा अपरिहार्य तत्वकारुपमा सेवन गरिने चलन छ । यसलाई ‘पायस’ तथा कतैकतै यसलाई ‘तस्मै’ पनि भनिन्छ । वैदिक सनातन संस्कारमा पितृहरूलाई चढाउन पायस अर्थात् दूध र अन्नको मिश्रणका रूपमा खिर पकाउने चलन छ । भगवान् श्री कृष्ण र खिरको किस्सा भगवान् श्री कृष्णले एक दिन साधारण साधुको भेष बदलिएर एउटा राजासँग बाघचाल खेल्न जानुभएको र जितको बदलामा विभिन्न मन्दिरहरूमा निःशुल्क गरिब दीनदुखिहरुलाई खिर खुवाउने सर्त राख्नुभएको थियो । उक्त बाघचाल खेलमा भगवान् श्री कृष्णले राजामाथि विजय प्राप्त गरेको सम्झनामा अझैसम्म पनि मन्दिरहरूमा दीनदुखिहरूलाई खिर प्रसादका रूपमा बाँड्ने चलन रहेको छ । दक्षिण भारत, बङ्गलादेश, मालदिभ्स, सियाम राज्य अर्थात् थाइल्याण्ड लगायतका देशमा काँचो नरिवलको दूधबाट खिर बनाउने गरिन्छ । हामी संस्कृति र संस्कारमा साँच्चीकै धनी छौँ, खिर खानलाई कुनै कार्जे या उपलक्ष्य नै कुर्नपर्छ भन्ने पनि छैन, श्रावणको १५ लाई खिर खाने विशेष दिनको रूपमा लिइन्छ अर्थात् श्रावणको मध्य विन्दु खिर कोलागि प्रचलित छ । रोपाई सकिन आँट्यो भनेर या चलिरहेको रोपाई सँगै यो दिनलाई खिर कैयन दशकदेखि स्वादिलो बनाउँदै आएको छ । श्रावण महिनामा पानी पर्ने भएकाले जताततै हरिया घाँसहरू प्रशस्त हुने गर्दछन् जसलाई लैनो गाई तथा भैँसीहरूले अत्यन्त मन पराउने गर्दछन् जसका कारण प्रशस्त दूध पनि दिने गर्दछन् । दूधको कमी नहुने यो प्राकृतिक महिनामा खिर खाएर गति परिन्छ भन्ने धारणा छ । अनि दूध ल्याउनुभयो त खिर बनाउन ? आज त दूधको व्यापक बिक्री हुन्छ नेपालमा । बिहानैदेखि दूध पसलहरूमा भिडभाड हुने गर्दछ, आफ्नोलागि खिरको जोहो गर्न नभुलौँ है । ल है सहर तिर हो भने त डेरीमा अरू दिन ३-४ बजे सकिने दूध बिहान ९ नबज्दै सकिएला ढिलो हुँदा नपाइएला नि ! लगभग रोपाई सकिसकेको अवस्थामा छ यसपालि, बालीनाली सप्रियोस्, मानो खाएर मुरी उब्जाउन सकियोस्, आषाढ र श्रावणको दुःख मङ्सिर मा सुख र आनन्दको रूपमा परिणत होस् अनि मुख्य कुरो खिर जस्तै सेतो स्वच्छ र मिठो विचार हामीमा बनिरहोस्, खिरसङै शुभकामना !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार