भरतपुर । बागमती प्रदेश सरकारले प्रदेशभर लागू हुने गरी सार्वजनिक सवारीसाधनको भाडा घटाएको छ । बिहीबारदेखि लागू हुने गरी बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले सार्वजनिक यातायातको भाडा घटाएको हो । यसअघि पनि प्रदेश सरकारले जेठ ११ मा भाडादरमा केही समायोजन गरेको थियो ।
११ जेठमा काठमाडौँ उपत्यकाभित्र ५.१९ र उपत्यकाबाहिर ४.१८ प्रतिशतले सार्वजनिक यात्रुवाहक सवारीसाधनको भाडा घटेको थियो । अहिले फेरि प्रदेश सरकारले भाडा घटाएको छ ।
प्रदेश सरकारका सचिव तीर्थराज भट्टराईका अनुसार नेपाल आयल निगमले १ साउनमा इन्धनको मूल्यमा स्वचालित प्रणाली लागू गरेपछि भाडा घटाइएको हो । लामो दूरीको भाडा घटेपछि जिल्लाभित्रका छोटो दूरीको भाडा पनि समायोजन गर्ने यातायात व्यवसायीहरुले बताएका छन् ।
मन्त्रालयले जारी गरेको प्रदेश राजपत्रअनुसार उपत्यकाबाहिर चल्ने लामो दूरीको यात्रुवाहक सवारीमा २.३० प्रतिशत, मालवाहक सवारीसाधनमा ३.१ प्रतिशतले भाडा घटेको हो । मालवाहक सवारीमा प्रतिकिमी प्रतिटनको भाडा १३ रूपैयाँ ७४ पैसा लाग्नेछ । प्रतिटनमा भाडा १४ रूपैयाँ १९ पैसा घटाइएको छ ।
काठमाडौँ उपत्यकामा ५ किलोमिटरसम्म यात्रा गर्दा सार्वजनिक सवारीमा १८ रूपैयाँ भाडा तिनुपर्नेे छ । १० किलोमिटरसम्म यात्रा गर्दा २४ रूपैयाँ भाडा लाग्नेछ । काठमाडौँ उपत्यकामा १५ किलोमिटरसम्म यात्रा गर्दा २९ रूपैयाँ भाडा लाग्ने भएको छ । २० किलोमिटरसम्म यात्रा गर्दा ३२ रूपैयाँ भाडा लाग्नेछ ।
१५ केजीसम्म यात्रुलै निःशुल्करुपमा सरसामान बोक्न पाउने मन्त्रालयले जनाएको छ । त्यसभन्दामाथि १० केजीसम्म प्रतिकेजी ५ रूपैयाँको दरले भाडा लाग्ने राजपत्रमा उल्लेख छ ।
नारायणगढबाट काठमाडौँको भाडा ४३१ रूपैयाँबाट घटाएर ४२१ रूपैयाँ बनाइएको छ । यसअघि गत जेठ ११ मा भाडा समायोजन हुँदा काठमाडौँ–नारायणगढको भाडा ४५० रूपैयाँबाट घटाएर ४३१ बनाइएको थियो । नारायणगढबाट काठमाडौँ १४६ किलोमिटर छ ।
काठमाडौँ–नारायणगढ–हेटौँडाको भाडा ६३७ रूपैयाँबाट घटाएर ६२२ बनाइएको छ । गत जेठ ११ उता सो रूटको भाडा ६६४ रूपैयाँ रहेको थियो ।
यस्तै, काठमाडौँदेखि रामपुर (चितवन)को भाडा ४५८ रूपैयाँबाट ४४७ रूपैयाँ कायम गरिएको छ । यसअघि रामपुर–काठमाडौँको भाडा ४७८ रूपैयाँ थियो, जेठ ११ मा समायोजन गरी ४५८ रूपैयाँ बनाइएको थियो । रामपुरदेखि काठमाडौँ १५१ किलोमिटरको दूरी छ । नारायणगढदेखि धादिङबेसीको भाडा २९८ रूपैयाँबाट घटाएर २९१ बनाइएको छ । यसअघि नारायणगढ–धादिङबेसीको भाडा ३११ रूपैयाँसम्म थियो ।
चितवनभित्रको छोटो दूरीको भाडा पनि घटाउने प्रतिबद्धता यातायात व्यवसायीहरुले जनाएका छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघ बागमती प्रदेशका अध्यक्ष चिनीबहादुर बोहराले यातायात व्यवसायीसँगको छलफलबाट छोटो दूरीको भाडा घटाउने प्रतिबद्धता गरेका छन् ।
‘बागमती प्रदेश सरकारले भाडा घटाएदेखि हामी पनि स्थानीय रूटमा भाडा घटाउने छौँ’, बोहराले भने, ‘बागमती सरकारले घटेको भाडाको विवरण प्राप्त भएपछि हामी छलफलमा जुट्नेछौँ ।’ उनका अनुसार यसअघि बागमती प्रदेशले भाडा घटाउँदा स्थानीयरुपमा पनि केही प्रतिशत भाडा घटाइएको थियो ।
चितवन यातायात प्रालिका अध्यक्ष खेम आलेले पनि स्थानीय रूटको भाडा घटाउने प्रतिबद्धता गरेका छन् । उनी भन्छन्, ‘छलफल गरेर एक/दुई दिनमा भाडा समायोजन गर्नेछौँ ।’
चितवनको स्थानीय रूटमा करिब ४०० बढी सार्वजनिक सवारीसाधनहरु गुड्ने गरेका छन्, जसमध्ये आधा म्याजिकमात्रै छन् । अन्य मिनीबस र बस पनि चितवनका स्थानीय रूटमा चल्ने गरेका छन् । चितवनमा एक दर्जन बढी यातायात प्रालिहरु रहेका छन् ।