साइबर सुरक्षामा डिजिटल साक्षरता

spot_img

‘यो पुस्तक त हामी सबैले पढनु पर्ने रहेछ’ सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेशले तयार गराई प्रकाशित गरेको साइबर सुरक्षा अवधारणा र अभ्यास पुस्तक र डिजिटल साक्षरता पुस्तक साउन ४ गते प्राप्त गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमन्त्रीसमक्ष भन्नुभयो “तपाईहरूले पनि पढ्नुहोला । मलाई त काम लाग्ने पुस्तक लाग्यो ।” सूचना प्रविधिको विकास, विस्तारसँग आएका अवसरलाई ग्रहण गर्न र चुनौतीको सामना गर्न डिजिटल साक्षरता आवश्यक हुन्छ भन्ने ठानेर प्रकाशित गरिएका ती पुस्तकप्रति प्रधानमन्त्री प्रचण्डको मोहका पछाडि सूचना प्रविधिका बारेमा उहाँ थप जान्न इच्छुक हुनुहुन्छ र केही काम गरेर देखाउन चाहनुहुन्छ भन्ने बुझिन्थ्यो ।

सञ्चार रजिष्ट्रार कार्यालय बागमती प्रदेश आफ्नो स्थापनाकालदेखि नै सूचना प्रविधिको विकास र विस्तारमा दक्ष जनशक्ति उत्पादनमा केन्द्रित रहँदै आएको छ । त्यसका लागि पत्रकारका लागि सिप र शिक्षा प्रदान गर्दै आएको कार्यालयले आमनागरिकका लागि पनि उपयोगी हुने डिजिटल साक्षरता र साइबर सुरक्षासँग सम्बन्धित पुस्तक प्रकाशित गरेको हो । आमनागरिक, प्रशासनिक संरचना र राजनीतिक नेतृत्वलाई डिजिटल साक्षर नबनाई सूचना प्रविधिको विकास र विस्तार हुनै सक्दैन । डिजिटल साक्षर बनाउने अभियान स्वरूप नै अनलाइन पत्रकारिता, डिजिटल साक्षरता र साइबर सुरक्षा नामक पुस्तक प्रकाशित गरिएको हो ।

साक्षरता भनेको अक्षर पढ्ने र लेख्ने अनि सामान्य सङ्ख्याको जोड (घटाउ गर्न सक्ने क्षमता भनेर बुझिन्थ्यो । फेरिएको समयले साक्षरताको अर्थलाई पनि फेरेको छ । युनेस्को भन्छ साक्षरता भनेको त्यस्ता धेरै सिपको एउटा समूह हो, जसमा डिजिटल दक्षता, मिडिया साक्षरता, दिगो विकास लक्षित शिक्षा र एउटा विश्वव्यापी नागरिकका हैसियतमा रोजगारी केन्द्रित दक्षता भएको अवस्था हो । परिभाषा नै फेरिने परिस्थिति चाहिँ द्रुत गतिमा विकास हुँदै गएको सूचना प्रविधिको कारणले हो । युनेस्कोले डिजिटल साक्षरतालाई समग्र साक्षरताको मुख्य सर्त बनेको छ ।

डिजिटल साक्षरताको क्षेत्र आफैँमा व्यापक छ । युरोपेली सङ्घले कुनै पनि व्यक्ति डिजिटल साक्षर हुन उसमा २१ वटा फरक फरक क्षमता हुनु पर्छ भनेको छ । यस्ता २१ वटा क्षमतालाई ५ वटा समूहमा छुट्टयाइएको छ । यीमध्येको एउटा समूह हो, डिजिटल सुरक्षा । चलनचल्तीमा डिजिटल सुरक्षालाई साइबर सुरक्षा भनेर पनि बुझिन्छ ।

इन्टरनेट वा डिजिटल प्रविधिको प्रयोगमा धेरै सुरक्षा चुनौती छन् । तर यस्ता चुनौतीसँग भागेर अगाडि बढ्ने बाटो छैन । बरु आफूलाई सक्दो प्रविधि साक्षर र प्रविधिमैत्री बनाउन सक्यो भने यसबाट लिन सकिने फाइदा धेरै छन् । संसारको बहुसङ्ख्यक जनसङ्ख्या कुनै न कुनै रूपमा यो प्रविधिको सञ्जालमा जोडिइसकेको छ । आजकल त्यस्तो कुनै पेसा वा व्यवसाय सायदै सञ्चालनमा होला, जसलाई पछिल्लो समय विकास भएको डिजिटल प्रविधिले प्रभावित गरेको नहोस् ।

राजनीतिक, सामाजिक र आर्थिक संरचनाका सबै तहमा साइबर सुरक्षाका चुनौती थपिँदै गएका छन् । अर्थात् एउटा व्यक्तिको तहदेखि, निश्चित समुदाय, क्षेत्र, देश र अन्तर्राष्ट्रिय स्तरसम्मै विभिन्न प्रकृति र प्रवृत्तिका साइबर सुरक्षाका चुनौती आउन थालेका छन् । सँगसँगै यस्ता चुनौती रोक्न विभिन्न क्षेत्रबाट पहल र प्रयास पनि भइरहेका छन् । नेपालको संविधान, २०७२ ले निर्देशित गरेअनुसार बनेको प्रदेश कार्यविभाजन नियमावलीले सूचना प्रविधि क्षेत्रको प्रवर्धन र डिजिटल साक्षरताको विषयलाई प्रदेश सरकारको पनि जिम्मेवारीभित्र समेटेको छ ।

बागमती प्रदेशको प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन, २०७५ र यसै अन्तर्गत बनेको प्रदेश सञ्चारमाध्यम व्यवस्थापन नियमावली, २०७६ ले सञ्चार रजिष्ट्रारको कार्यालयलाई सूचना प्रविधिको प्रयोग, विकास, प्रवर्धन र साक्षरता वृद्धि गराउने क्षेत्र तोकेको छ । साइबर सुरक्षाको सचेतना नागरिक तहमा फैलाउनु पर्ने हुन्छ । तीनै तहका सरकार, गैरसरकारी संस्था, निजी तथा व्यावसायिक प्रतिष्ठानहरू र आमनागरिकको सहकार्यले नै यसलाई सफलतातिर डो¥याउने हो ।

आफ्नो जिम्मेवारीअनुसार सञ्चार रजिष्ट्रार कार्यालयले आमसञ्चार र सूचना प्रविधिका क्षेत्रमा नियमित अध्ययन, अनुसन्धान र प्रकाशन गर्दै आएको छ । भौगोलिक रूपमा प्रदेशभित्रका सेवाग्राही मात्र नभएर आमसर्वसाधारणको दैनिकीमा कसरी सकारात्मक योगदान गर्न सकिन्छ भन्ने ध्येयले यस्ता सिप र ज्ञान अभिवृद्धि गर्ने प्रकाशनलाई कार्यालयले प्राथमिकता दिँदै आएको छ । यसमा पनि डिजिटल साक्षरता यस कार्यालयले विशेष प्राथमिकतामा राखेको क्षेत्र हो । नागरिक अगाडि दौडिरहेको र सरकार पछाडि हिँडिरहेको अवस्था छ । सरकारले नागरिकलाई डो¥याउनु पर्ने हो । नागरिकलाई साक्षर बनाउने प्रयास सरकार अगाडि लागेर नागरिकलाई पछाडि हिँडाउने प्रयास हो । यस्तै सत्प्रयासको एउटा शृङ्खला साइबर सुरक्षा पुस्तक पनि हो । साइबर सुरक्षा अवधारणा र अभ्यास पुस्तकले आमनागरिकले कम्प्युटर, मोबाइल फोन, इन्टरनेट र सामाजिक सञ्जालको दैनिक प्रयोग गर्ने सवालमा आउने सुरक्षा चुनौती र त्यसका सुरक्षाका उपायबारे जानकारी दिन्छ । पुस्तकमा अलि बढी प्राविधिक लाग्ने, नेटवर्क आक्रमण, साइबर वारफेयर, क्रिप्टोग्राफी जस्ता जटिल प्रकृतिका साइबर चुनौतीका विषय र समाधानबारे पनि चर्चा गरिएको छ । यसबाट साइबर सुरक्षामा पाठकलाई थप जानकार बन्न प्रेरित गर्ने विश्वास लिइएको छ ।

एकले अर्कोलाई गाली र आलोचना गरेर समय कटाउने समय होइन । जहाँबाट जसले जति सक्छ, त्यहाँबाट त्यसले त्यति नै काम गरेर देखाउने हो । सङ्घीय सरकारले गरेन भन्नुभन्दा प्रदेश र स्थानीय तहले काम गरेर देखाउने प्रयास गर्दा पनि हुन्छ । आमनागरिकको हितमा काम गर्दा कुनै पनि सरकारले छेक्न र रोक्न सक्दैन । सिर्जनात्मक काम, जसले सुरु गर्छ, त्यही नै अगाडि बढ्ने हो । पछाडि फर्केर होइन, अगाडि बढेर नै इतिहास रचिन्छ ।

विकासका लागि सिप र शिक्षामा लगानी महत्वपूर्ण हुन्छ । सिप र शिक्षामा लगानी जति बढाइन्छ र ब्रेन ड्रेनलाई जति छिटो रोकिन्छ, त्यति छिटो नेपालको विकास हुने हो । चीन र भारतको मध्य भागमा रहेको नेपालको विकासका लागि सिप र शिक्षामा लगानी बढाउँदा त्यसले आफूलाई चाहिने पूर्वाधार विकास गर्न उत्प्रेरित गर्ने छ । चाहिने पूर्वाधार कस्तो हो भन्ने कुराको निर्धारण सिप र शिक्षा गर्ने हो । त्यसैले सिप र शिक्षामा केन्द्रित भएर प्रदेश सरकारले काम गर्न सक्छ ।

सङ्घ, प्रदेश र स्थानीय तहले आफ्ना नीति, कार्यक्रम र बजेट ल्याइसकेका छन् । ती नीति, कार्यक्रम र बजेटलाई इमानदारीपूर्वक, निष्ठापूर्वक कार्यान्वयनमा ध्यान दिने हो भने पनि नेपालको विकासले गति लिन सक्ने छ । सूचना प्रविधिसँग सम्बन्धित विषयलाई कुनै पनि सरकारले बेवास्ता गर्न सक्ने अवस्था नै छैन किनकी नागरिक अगाडि दौडिसकेका छन् ।

साइबर अपराधबाट जोगिनका लागि डिजिटल डिभाइस र इन्टरनेटका बारेमा साक्षर बन्नै पर्छ । आफू सुरक्षित रहन र अरूलाई सुरक्षित रहन स्वदेश तथा विदेशमा आर्जित ज्ञान र सिपलाई एक ठाउँमा केन्द्रित गर्दै हस्तान्तरण गर्नुपर्ने हुन्छ । जुनसुकै पेसा वा व्यवसायमा रहेका नागरिकका लागि साइबर सुरक्षा जान्नै पर्ने पेचिलो विषय बन्दै गएको सन्दर्भमा ती पुस्तक सूचना प्रविधिका बारेमा साक्षर बनाउन पर्याप्त छैनन् । तर ती पुस्तकले सूचना प्रविधिको क्षेत्रमा साक्षर बन्न उत्प्रेरित गर्छन् अर्थात् भोक जगाउने काम भने अवश्य गर्ने छन् ।

प्रधानमन्त्री प्रचण्डले देखाउनु भए जस्तै चासो अन्य सरोकारवालाले पनि देखाएमा नेपालमा सूचना प्रविधिको विकास र विस्तार छिटो हुने अपेक्षा गर्न सकिन्छ । सङ्घ, प्रदेश र स्थानीय तहसँगसँगै अगाडि बढ्दा नै परिणाममुखी नतिजा निकाल्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार