राप्ती नगरपालिकाले नगरवासीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । त्यसका लागि आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा योजना समावेश गरी सो नगरपालिकाले बजेटसमेत विनियोजन गरेको छ ।
गत आर्थिक वर्षमा अतिविपन्न र दीर्घरोगीहरुलाई मात्र निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्दै आएको सो नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को साउन महिनाबाटै लागू हुने गरी नगरवासी सबैलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने गरी बजेट विनियोजन गरिएको हो ।
अहिले मौजुदा रहेको एउटा एम्बुलेन्स भण्डारा नगर अस्पतालबाट सञ्चालनमा रहेको छ । अर्को एउटा एम्बुलेन्स खरिदका लागि २० लाख रूपैयाँ विनियोजन गरिएको मेयर शमशेर लामाले जानकारी दिए । एम्बुलेन्स खरिदका लागि २० लाख र सञ्चालन खर्चका लागि १५ लाख रूपैयाँ विनियोजन गरिएको उनले बताए ।
एम्बुलेन्स खरिदमा भन्सार नलाग्ने भएका कारण १५ लाख रूपैयाँमा एम्बुलेन्स खरिद हुने र बाँकी रहेको पाँच लाख रूपैयाँ पनि सञ्चालन र व्यवस्थापनमा खर्च गर्ने योजना बनाइएको छ । नगरवासीलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्न पुरानो एउटा र अर्को नयाँ गरी दुईवटा एम्बुलेन्स सञ्चालन हुने मेयर लामाले बताए । निःशुल्क एम्बुलेन्स सेवाका लागि कार्यविधि बनाएर व्यवस्थित गरिनेछ । ‘यथास्थितिमा सञ्चालन गर्दा दीर्घकालीन नहुन सक्छ’, मेयर लामाले भने, ‘कार्यविधि बनाएर एम्बुलेन्स सेवा सञ्चालन गर्नेछौँ ।’
राप्तीका सीमान्तकृत चेपाङ समुदाय आर्थिक अभावकै कारण उपचारका लागि अस्पताल जाँदैनन् । सरकारी अस्पतालमा चेपाङ समुदायको निःशुल्क उपचार हुन्छ । बिरामी ल्याउन समस्या हुने भएकाले पनि कतिपय बिरामीहरु अस्पतालसम्म नआउने गरेको मेयर लामाले बताए । निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन भएपछि पहाडी क्षेत्रमा बसोवास गर्ने चेपाङसहित अतिविपन्न परिवारहरुलाई अस्पतालसम्म आउन सहज हुनेछ । ‘उपचार नपाएर कोही पनि मर्न हुँदैन’, मेयर लामाले भने, ‘भण्डारा अस्पतालको स्तरोन्नति गरी प्रभावकारी उपचार गराउने योजना बनाएका छौँ ।’
सो नगरपालिकाले आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रममा अतिविपन्नको निःशुल्क स्वास्थ्य बिमा गर्ने गरी बजेट विनियोजन गरेको छ । स्वास्थ्य बिमाका लागि वडास्तरीय बजेटमा राखिएको छ । ३ वटा वडामा निःशुल्क स्वास्थ्य बिमाका लागि ४० लाख रूपैयाँ विनियोजन गरिएको छ । उक्त बजेटबाट झन्डै एक हजार २०० घरपरिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने लक्ष्य रहेको मेयर लामाले बताए ।
भण्डारा अस्पतालमा पहिलोपटक स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्ने गरी बजेट विनियोजन गरिएको हो । तीन जना मेडिकल अफिसरले धानेको सो अस्पतालमा जटिल प्रकारको उपचार सम्भव छैन । भण्डारा अस्पतालमा स्वास्थ्य बिमा गराउने र त्यहाँ सम्भव नभएका बिरामीको उपचारका लागि जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरेको अस्पतालमा रिफर गर्ने गरी व्यवस्था मिलाइने मेयर लामाले बताए । निःशुल्क एम्बुलेन्स र स्वास्थ्य बिमामार्फत नगरवासीको उपचार पाउने अधिकार सुनिश्चित गर्न खोजिएको उनको भनाइ छ ।
सो नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा दमकल खरिद गर्ने योजनासहित बजेट विनियोजन गरेको छ । सुकुमवासीलाई लालपुर्जा वितरणका लागि चालू आर्थिक वर्षमा जग्गा नापजाँचको काम सकेर पुर्जा वितरणका लागि आधार तयार गर्ने गरी एक करोड रूपैयाँ विनियोजन गरिएको छ ।
पर्यटन विकासका लागि नगरभित्रका सामुदायिक वनमा जिप सफारी सञ्चालनका लागि २५ लाख रूपैयाँ, कृषि क्षेत्रको
विकासका लागि १३ वटै वडामा प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्न ६५ लाख, पशुपालनको विकासका लागि पाँचवटा वडामा प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालनका लागि २५ लाख रूपैयाँ विनियोजन गरिएको मेयर लामाले जानकारी दिए । त्यसैगरी, कृषि र पशुपालनको विकासका लागि पिप्ले, वीरेन्द्रनगर र यौरेलीटारमा कृषि तथा पशुसेवा केन्द्र स्थापना गर्न २५ लाख रूपैयाँ विनियोजन गरिएको छ ।