पूर्वी चितवनको राप्ती नगरपालिकामा कृषि उत्पादन र पशुपालनको विकासको लागि स्थानीय सरकार र सेवा प्रदायक संस्थाबीच सम्झौता भएको छ ।
कृषि र पशुपालनको क्षेत्रमा आइपर्ने समस्या सामधानको लागि विशेषज्ञ सेवा उपलब्ध गराउने गरी राप्ती नगरपालिका र नेपाल पोलिटेक्नीक इन्ष्टिच्युट भरतपुर बीच बुधबार सम्झौता भएको हो । पूर्वाञ्चल विश्व विद्यालय अन्तर्गत सञ्चालित सो इन्ष्टिच्युटले राप्ती नगरपालिकामा कृषि र पशुपालनको विकासको लागि डाक्टर सहितको विशेषज्ञ सेवा उपलब्ध गराउने छ ।
नगरपालिकामा आयोजित एक औपचारिक कार्यक्रममा नगरपालिकाको तर्फबाट मेयर शमशेर लामा र इन्ष्टिच्युटको तर्फबाट शैक्षिक कार्यक्रम निर्देशक तथा प्राचार्य प्रा.डा.केशबराज अधिकारी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । कृषि तर्फ इन्ष्टिच्युटले अन्नबालीमा लाग्ने रोग निराकरणको लागि खेतमै प्राविधिक उपलब्ध गराउने, कृषि उत्पादन सम्बन्धी तालिममा विशेषज्ञ सेवा उपलब्ध गराउने, नियमित रुपमा प्लान क्लनीक सेवा उपलब्ध गराउने, माटो परीक्षणमा सहजीकरण गर्ने सम्झौतापत्रमा उल्लेख छ ।
पशुपालन तर्फ बाझोपन निराकरणको लागि विशेषज्ञ सेवा उपलब्ध गराउने, पशुमा लाग्ने रोग नियन्त्रणका लागि सचेतना मुलक कार्यक्रम गर्ने, पशुपंछी विकास शाखाले सञ्चालन गर्ने तालिममा विशेषज्ञ सेवा उपलब्ध गराउने, पशुबस्तुको उपचारको लागि डाक्टर सहितको विशेषज्ञ सेवा उपलब्ध गराउने गरी स्थानीय सरकार र सेवा प्रदायक संस्था बीच सम्झौता भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत शैलेन्द्र भण्डारीले जानकारी दिए । सम्झौता पत्रमा महिनाको एकदिन अनिवार्य किसानको गोठ र खेतमा इन्ष्टिच्युटले डाक्टर र प्राविधिक पठाउने उल्लेख गरिएको छ ।
सम्झौतापत्रमा हस्ताक्षार गर्न आयोजित कार्यक्रममा इन्ष्टिच्युट प्राचार्य प्रा.डा.केशबराज अधिकारी सम्झौता एक बर्षको लागि कायम हुने र प्रभावकारिताका आधारमा नवीकरण गर्न सकिने बताए । सम्झौता कार्यान्वयनका लागि इन्ष्टिच्युट प्रतिबद्ध भएर लाग्ने भन्दै उनले एक बर्षको अबधिमा राप्तीको कृषि र पशुपालनमा परिर्वतन आउने गरी सेवा उपलब्ध गराउने बताए । किसानको सबलीकरणका लागि विशेषज्ञ सेवा प्रदान गर्न हामी राप्ती आएका हौं उनले भने यसको प्रभावकारिताको लागि पालिकाको पनि भूमिका महत्वपूर्ण हुन्छ ।
मेयर लामाले राप्तीमा भूगोल सुहाउदो कृषि र पशुपालन रहेको भन्दै यसबाट नै राप्तीलाई सबल बनाउने बताए । कृषि र पशुपालन मार्फत किसानको जीवन स्तर उकास्ने लक्ष्य रहेको मेयर लामाले बताए । हामीले विश्वास गरेर सेवा प्रदायक संस्थासंग सम्झौता गरेका छौं उनले भने प्रतिफल प्राप्त गर्ने गरी सम्झौता कार्यान्वयनको लागि जोडबल गर्ने छौं । चालु आर्थिक बर्षमा कृषि र पशुलनमा उत्पादन बृद्धि गर्ने गरी योजना तर्जुमा गरिएको भन्दै उनले व्यवसायिक किसानका लागि विशेषज्ञ सेवा कोसेढुंगा सावित हुने बताए ।