दूधको ट्याङ्करमा पानी बोकेर रोपाइँ

राप्ती । सिंचाइको सुविधा नभएपछि चितवन राप्तीका एक किसानले दूध बोक्ने ट्याङ्करमा पानी बोकेर रोपाइँ गरेका छन् । राप्ती नगरपालिका वडा नम्बर–३, झुरझुरेका किसान कृष्णप्रसाद पाठकले दस कट्ठामा ट्याङ्करबाटै पानी बोकेर सोमबार रोपाइँ गरेका हुन् । राप्तीको उत्तरी भेगको धेरै ठाउँमा सिंचाइको समस्या छ ।

पूर्व–पश्चिम राजमार्गदेखि दक्षिणी भेगमा कुलो, बोरिङमार्फत खेती हुने भए पनि उत्तरतर्फका धेरै ठाउँमा बोरिङ धसाउँदा पनि पानी निस्कँदैन । बोरिङ र कुलोमार्फत सिंचाइ नभएपछि दूध बोक्ने तीनवटा ट्याङ्करमा पानी ल्याएर रोपाइँ गरेको किसान पाठकले बताएका छन् । ‘बोरिङ र कुलो नहुँदा आकासको भर परियो’, किसान पाठकले भने, ‘साउन लाग्दा नि पर्याप्त मात्रामा पानी नपर्दा वैकल्पिक उपाय अपनाएर रोपाइँ गरियो ।’

एक वर्षअघिसम्म पोखरीको पानीबाट सिंचाइ गरी खेती गर्ने गरिएको थियो । प्रदेश सरकारले विनियोजन गरेको बजेटबाट पोखरी मर्मत तथा गेटभल्भ राख्दा पानी नअडिएपछि गत एक वर्ष खेत बाँझै रहेको किसान पाठकले जानकारी दिए । सेमाउल नामक कोरियन संस्थाले पोखरी निर्माणमा सहयोग गरेको थियो । सोही पोखरीबाट करिब ४÷५ बिगाहा जमिनमा खेती गरिँदै आएको थियो । किसान पाठक जागिर पनि गर्छन् । ‘जागिरले सामान्य घरखर्च टर्छ’, उनले भने, ‘खेतीबाट वर्षभरि खान पुग्ने भएकाले गाह्रोसाह्रो गरेर भए पनि रोपाइँ गरेको हुँ ।’

उनले ट्याङ्करबाट पानी बोकेर रोपाइँ गरे पनि अन्य किसान आकासको पानी कुरिरहेका छन् । एक ट्याङ्कर पानीका लागि उनले पाँच सय रूपैयाँ तिरेका छन् । रोपाइँका लागि तीन ट्याङ्कर पानी प्रयोग गरिएको उनले बताए । ‘आकासबाट परेको पानी छिपछिपे अवस्थामा थियो, रोप्नलाई पर्याप्त भएन’, किसान पाठकले भने, ‘दूधको ट्याङ्कर खाली रहेको मौका छोपी तीन ट्याङ्कर पानीले रोप्न मिल्ने बनाइयो, अब आकासबाट थोरै पानी परे पनि पुग्ने थियो ।’

पूर्वी चितवनका उत्तरी भेगमा कुलोमार्फत पर्याप्त सिंचाइ नहुने भएपछि पालिकाहरुले अनुदानमा बोरिङ गाड्ने काम गरेका छन् । तर, राप्तीको जस्तै कतिपय ठाउँमा बोरिङ धसाउँदा पनि पानी नआउने समस्या छ । राप्तीको हकमा सडकको दक्षिणतर्फबाट बोरिङ गरी पाइपलाइन विस्तार गरेर सिंचाइको सुविधा पु¥याउन सकिने किसान पाठक बताउँछन् । यसमा स्थानीय र प्रदेश सरकारले ध्यान दिनुपर्ने उनले बताए ।

राप्ती नगरपालिका कृषि अधिकृत रक्षा उप्रेतीले अन्य ठाउँमा बोरिङ धसाउँदा पानी आए पनि झुरझुरेमा किन आएन भन्नेबारे अध्ययन हुनुपर्ने बताइन् । राप्तीले गत आर्थिक वर्षमा ६० वटाभन्दा बढी बोरिङ निर्माण गरेको उनले जानकारी दिइन् । नगरपालिकाले बोरिङ बनाएका सबैबाट पानी निस्केर किसानले सिंचाइ गरिरहेको पनि उनले बताइन् ।

नगरको वडा नम्बर–१ देखि ८ सम्म सो संख्यामा बोरिङ निर्माण गरिएको हो । राप्तीलगायत खैरहनी र रत्ननगर नगरपालिकामा तीन बाली खेती हुन्छ । दुई बाली धानखेती तथा एक बाली मकै वा तोरीखेती हुँदै आएको छ । यहाँ धान जोन कार्यक्रमसमेत लागू छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार