राप्ती । चितवनको सबै भन्दा पूर्वी क्षेत्रमा पर्ने पूर्ववत् पिप्ले, भण्डारा, बीरेन्द्रनगर, कोराक र लोथर गाउँ विकास समितिहरु समायोजन भई बनेको यस राप्ती नगरपालिका पहाडी र समथर भू–भाग समेतको भौगालिक विविधता भएको नगरपालिका हो । यो नगरपालिका पूर्वमा मकवानपुर जिल्लासँग, पश्चिममा चितवन जिल्लाकै खैरहनी नगरपालिका, उत्तरमा महाभारत श्रृङ्खला हुदै धादिङ जिल्लासँग जोडिएको यो नगरपालिकाको दक्षिणी भूभाग भने चितवन राष्ट्रिय निकुञ्जसंग जोडिएको छ । ११२.३१ वर्ग कि.मि. क्षेत्रफल भएको यस नगरपालिकामा राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक जनसङख्याअनुसार १४,३९० घरधुरी र १५,४५९ परिवार सङ्ख्या रहेको छ । राप्ती नगरपालिकाका नगर प्रमुख शमशेर लामासंगको कुराकानी
स्थानीय तह दोस्रो चरणमा प्रवेश गरेसँगै राप्ती नगरपालिकाले आगामी पाँच वर्षभित्र पूर्वाधारको क्षेत्रमा गर्ने कामहरु के कस्ता रहेका छन् ?
राप्ती नगरपालिकाभित्र पूर्वाधार क्षेत्रका कामहरुमा नगरसभाबाट पास गरेर सुरु गरिसकेका छौं । विभिन्न वडाहरुमा गर्ने कामको योजना तयार भएको छ । यसपटक जनताहरूले आफ्ना घर अगाडिको बाटोघाटो, कुलो, पुलेसाहरु सडक कालोपत्रे गर्ने काम सुरु भएको छ । नागरिकका आवश्यकताहरु के कस्ता छन् त्यसलाई पूरा गर्नेछौं । त्यसैगरी केही ठाउँहरुमा सडक ढलान गर्ने काम र नालाहरु खन्ने काम बनाउने काम सुरु भएको छ । केही भौतिक संरचनाहरुको निर्माण गर्ने काम गर्नेछौं ।
राप्ती नगरपालिकाभित्र जनताको प्रत्यक्ष रूपमा देखिएको समस्याहरु के कस्ता रहेका छन् ?
भौगोलिक हिसावले राप्ती नगरपालिका २ वटा भागमा देखिन्छ । हाम्रो नगरपालिकाभित्र १३ वटा वडा रहेको छ । ९ वटा डाँडा, समथर भूभाग र ४ वटा पहाडी भूभागमा रहेको छ । सिँचाइ, खानेपानी, सडकहरुको तल्लो भागमा व्यवस्थापन भइसकेको छ । माथिल्लो भागमा भने खानेपानी, सडक निर्माण गर्नुपर्ने देखिन्छ । त्यसैगरी यहाँ बिजुलीको समस्या थियो । त्यसको परिपूर्ति भइसकेको छ । माथिल्लो भेगमा वर्षायाममा बाढी पहिरो जाने समस्या छ । तल्लो भेगमा लोथर खोलाको बाढी पहिरो जान्छ । यी राप्ती नगरपालिकाको मुख्य समस्याहरु रहेका छन् ।
उत्पादन र रोजगारको क्षेत्रमा राप्ती नगरपालिकाले गर्ने कामहरु के कस्ता रहेका छन् ?
उत्पादनको क्षेत्रमा राप्ती नगरपालिकामा कृषि क्षेत्र नै प्रमुख रहेको छ । यो अति नै मलिलो उत्पादनशील भूमि हो । हामीले समय समयमा तरकारीलाई विशेष प्रोत्साहन दिइरहेका छौं । नगदे तीन बाली उत्पादन हुनेछ । तरकारी र दुधको क्षेत्रमा राप्ती नगरपालिका आत्मनिर्भर भएको छ । हाम्रो नगरपालिकामा उत्पादन भएका तरकारीजन्य वस्तुहरु विभिन्न ठाउँहरुमा निर्यात गरिरहेका छौं । माथिल्लो भेगमा पशुपालनलाई विशेष प्राथमिकतामा राखेका छौं । जति मात्रामा रोजगारीको व्यवस्थापन गर्नुपर्ने हो त्यति हुन सकिरहेको अवस्था छैन । कृषि क्षेत्रमा आधुनिकीकरण गर्दै सबै नागरिकलाई आत्मनिर्भर र रोजगारी बनाउने हाम्रो लक्ष्य रहेको छ ।
प्रशासनिक क्षेत्र सुधारमा तपाईंले चाल्ने कदमहरु के कस्ता हुनेछन् ? राप्ती नगरपालिकाले वार्षिक बेरुजु कम गर्नको लागि के कस्तो काम गर्दैछ ?
प्रशासनिक क्षेत्र सुधारमा जिम्मेवार व्यक्तिले आफ्नो कामलाई महत्वपूर्ण ढंगले कार्यान्वयन गर्नुपर्दछ । कर्मचारीहरूको कार्य सुधारमा नियमित चेकजाँच र हाजिरीको व्यवस्था गर्नुपर्दछ । कर्मचारीको कार्यक्षमताको आधारमा प्रोत्साहनको व्यवस्था र आवश्यकता अनुसारको तालिमको गरिनुपर्दछ । आवश्यक कर्मचारीको दरबन्दी, परिपूर्ति गर्नेछौं । हामीले नीति, नियम र कानूनलाई सही ढंगले प्रयोग गर्न सक्यौं भने बेरुजु कम गर्न सकिन्छ । हामीले सञ्चालन गर्ने कामहरुमा नियमित चेकजाँच र अनुगमनको व्यवस्था जरुरी छ ।
स्थानीय सरकार निर्माण भइसकेपछि यसको सबल पक्ष, कमजोर पक्ष, अवसर र चुनौती के कस्तो रहेको छ ?
यसको सवल पक्ष भनेको हरेक टोल–टोलमा बजेट पुगेको छ । जनताका आवश्यकता र समस्याहरु सहजै समाधान हुन सक्नेछ । यो सबल पक्ष रहेको छ । हिजोको तुलनामा पर्याप्त बजेट गाउँमा पुगेको छ । अहिले आवश्यकता अनुसारको बजेट भने नपुगी रहेको छ । हिजो स्थानीय सरकार नहुँदा हाम्रा समस्याहरु राख्नको लागि सिंहदरबार जानुपर्ने थियो । त्यसैगरी हाम्रा माननीय ज्यूहरुलाई खोज्नुपर्ने अवस्था थियो । अहिले त्यसको समाधान भएको छ । यो एकदमै राम्रो पक्ष रहेको छ । अर्को नराम्रो पक्ष के छ भने अधिकार लिने कुराहरुमा स्थानिय तह, प्रदेश सरकार र संघीय सरकारको समन्वय हुन जरुरी छ । राप्ती नगरपालिकाको कुरा गर्ने हो भने हिजो साविकमा पाँचवटा गाविस थिए । पाँच करोड रुपैयाँ बजेट आउँथ्यो । अहिले साढे दुई करोड रुपैयाँ बजेट एउटा वडामा पठाएका छौं । यो सवल पक्ष रहेको छ । हामीले आफ्नो जिम्मेवारीलाई मिहेनत गरी पूरा गर्नुपर्दछ ।
अन्त्यमा राप्ती नगरवासीलाई के भन्न चाहनुहुन्छ ?
स्थानीय सरकार जनताले प्रत्यक्ष निर्वाचित गरेको सरकार हो । यो सरकार जहिले पनि जनताप्रति बफादार हुनुपर्दछ । जनताले गर्नुपर्ने काममा कहीँ पनि चुक्नुहुँदैन । स्थानीय जनताका समस्याहरुलाई जनप्रतिनिधि तथा प्रशासनिकमार्फत् समाधान गर्न सकिन्छ । नगरपालिकाले गर्ने हरेक काममा जनताको साथ र सहयोगको अपेक्षा गरेको छु ।