
भरतपुर, २१ असार
२०७९ सालको एसइई परीक्षामा चितवनका ६ जना परीक्षार्थीले ४ जीपीए ल्याएका छन् । एसइईको परीक्षाफल बिहीबार सार्वजनिक भएको हो । जिल्लाको नारायणी इंग्लिस पब्लिक स्कुलका दुई जना, नारायणी मावि भरतपुर, आदर्श पब्लिक स्कुल भरतपुर र एकता शिशु निकेतन रत्ननगरका १–१ जना गरी ६ जना विद्यार्थीले ४ जीपीए प्राप्त गरेका हुन् ।
भरतपुर महानगरपालिका वडा नम्बर ११ मा रहेको नारायणी इंग्लिस पब्लिक स्कुलका सन्दीप पौडेल र प्रयुना सुयाँलले ४ जिपीए ल्याए । रत्ननगर ८ स्थित एकता शिशु सदनका स्वीकार पौडेलले पनि ४ जीपीए प्राप्त गरे । त्यसैगरी नारायणी नमुना माध्यमिक विद्यालयका प्रशान्त लौडारीले पनि ४ जीपीए प्राप्त गरेका छन् । आदर्श पब्लिक स्कुलका प्रशान्त काफ्लेको र ज्ञानदर्शन स्कुलका नमनबाबु चापागाईंको पनि ४ जीपीए आएको छ ।
चितवन जिल्लाभरिमा उत्कृष्ट नतिजा नारायणी पब्लिकको रहेको विद्यालयले जनाएको छ । यहाँबाट ७९ जनाले एसईई परीक्षा दिएकामा सबै उत्तीर्ण भएका छन् । एसईई दिएका अन्य विद्यार्थीको नतिजा पनि उत्कृष्ट रहेको विद्यालयका प्राचार्य वेदराज न्यौपानेले बताए । त्यहाँ ३.६ देखि ४ जीपीए ल्याउने १९ जना, ३.२ देखि ३.६ जीपीए ल्याउने २४ जना, २.८ देखि ३.२ जीपीए ल्याउने २७ जना र २.४ देखि २.८ जीपीए ल्याउने ७ जना रहेको प्रधानाध्यापक न्यौपानेले बताए ।
नारायणी नमुना माध्यमिक विद्यालयमा ३७४ जनाले एसईई दिएकोमा २ जनाबाहेक सबै उत्तीर्ण भएका छन् । त्यहाँ ६८ जनाले ३.६ देखि ४ जीपीए, १०२ जनाले ३.२ देखि ३.६ जीपीए, ८९ जनाले २.८ देखि ३.२ जीपीए, ६४ जनाले २.४ देखि २.८ जीपीए, ४० जनाले २ देखि २.४ जीपीए र ७ जनाले १.६ देखि २ जीपीए ल्याएको विद्यालयका प्रधानाध्यापक रामशरण दुवाडीले जानकारी दिए ।
भरतपुर ४ मा रहेको आदर्श पब्लिक स्कुलका प्रिन्सिपल शिव केसीले यस वर्ष स्कुलबाट १८ जनाले एसइई दिएको र नतिजा राम्रो आएको जानकारी दिए ।