चितवनका ७ पालिका मध्ये राप्तीको पुँजीगत बजेट खर्च राम्रो

 

राप्ती । राप्ती नगरपालिका यो आर्थिक बर्षको पुजिगत खर्च धेरै गर्ने पालिकामा मध्येमा परेको छ । चितवनको सात पालिका मध्ये पुँजीगत बजेट खर्च धेरै गर्ने पालिका मध्ये राप्ती नगरपालिका पहिलो रहेको छ । अन्य पालिकाहरुले आर्थिक वर्ष २०७९÷८० मा बजेट खर्च धेरै प्रयोग गर्न नसकिरहेको अवस्थामा राप्तीले भने पुँजीगत बजेट खर्चमा राम्रै प्रगती गरेको हो ।

राप्तीले यो आर्थिक बर्षको जेठ मसान्तसम्म चालूतर्फ ६५.२ प्रतिशत र पुँजीगततर्फ ५२.५६ प्रतिशत खर्च गरेको छ । नगरपालिकाले बिनियोजन गरेको ७० करोड ६८ लाख चालू बजेट मध्य बितेको ११ महिनामा ४६ करोड १४ लाख रूपैयाँ खर्च गरेको छ । त्यस्तै, ४२ करोड ९० लाख ८६ हजार पुँजीगत बजेटमध्ये २२ करोड ५५ लाख ४८ हजार रूपैयाँ खर्च भएको राप्ती नगरपालिका प्रमुख शमशेर लामाले वताए ।

जनप्रतिनिधिहरु बिचको ब्यक्तिगत टकराव र ६ महिनाको अवधीमा चार जना प्रमुख प्रशासकिय अधिकृत फेरिदा पनि राप्तीले राम्रै बजेट खर्च गर्न सफल भएको छ । समयसिमा भित्र योजनाका सम्पुर्ण कामहरु सम्पन्न गर्ने नगरको लक्ष रहेपनी त्यसो भने हुन नसकेको नगर प्रमुख लामाले वताए । वर्खा, चाडपर्व, प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन आदि कारणले पनि अलमल हुन पुगेको उनको भनाइ छ । असार लाग्नु अघि ‘जेठ महिना भित्रै योजनाहरु सम्पन्न गर्ने हाम्रो सोच थियो । तर प्रतिपक्षहरुले खर्च चाडै गरेको भनेर बारम्बार बिरोध गर्ने गरेकोले काममा केही ढिलासुस्ती भयो ।’ लामाले भने । तर पनि जनताको लागी काम गर्न हामीले छाडेनौ, अहिले पनि भ्याए सम्मका काम गरिरहेका छौ ।
यस आर्थिक बर्षको जेठ मसान्तसम्म भरतपुर महानगरपालिकाले चालूतर्फ ६५ प्रतिशत र पुँजीगततर्फ ३५ प्रतिशत खर्च गरेको छ । त्यस्तै रत्ननगर नगरपालिकाले यस आवको असार ५ गतेसम्म चालूतर्फ ५६.४ प्रतिशत (सामाजिक सुरक्षा र शिक्षक कर्मचारीका तलबबाहेक) खर्च गरेको छ भने पुँजीगततर्फ ४२.८ प्रतिशत खर्च गरेको छ । कालिका नगरपालिकाको चालू खर्च ७३.५५ प्रतिशत छ भने पुँजीगत खर्च ४७.२४ प्रतिशत छ । खैरहनी नगरपालिकाले यस आवको जेठ मसान्तसम्म चालूतर्फ ५०.८६ प्रतिशत र पुँजीगततर्फ ४९.१४ प्रतिशत खर्च गरेको छ । माडी नगरपालिकाले चालू तर्फ ७३.३१ प्रतिशत खर्च गरेको छ । त्यस्तै पुँजीगततर्फ ५४ करोड ६१ लाख ७० हजार विनियोजन भएकोमा ३९.४६ प्रतिशत खर्च गरेको छ । यता इच्छाकामना गाउँपालिकाले पनि बजेट खर्च गर्न नसकेर असारे बिकासलाई नै महत्व दिएको छ । जिल्लाका अधिकांस पालिकाहरुको प्रमुख समस्या नै बजेट बिनियोजन गर्ने तर समयमै खर्च गर्न नसक्नु हो । समयमै योजनाको प्रक्रिया अघि नबढाउने तर बर्खा सुरु हुनै लाग्दा हतार हतार बिकाश निर्माणका कामहरु गर्ने परिपाटीले असार महिनामा मात्रै बजेटको ठूलो हिस्सा खर्च हुने गरेको छ । त्यसो गर्दा कामको चापले सहि अनुगमन नहुन सक्छ भने गुणस्तरीयतामा पनि प्रश्न उठ्छ । योजनाको कामहरुमा असार महिना पर्खने चलनले ११ महिनामा भएको भुक्तानी भन्दा बढी असार मसान्तमा हुने अवस्था रहेको जानकारहरु बताउछ्न ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार