राप्ती । चेपाङ जातिका मौलिक एवम् परम्परागत औजारहरुको संरक्षण गर्ने उद्देश्यले गड्यौलीस्थित राप्ती नगरपालिका वडा नं–२ को कुपनटोलमा चेपाङ सङ्ग्रहालय निर्माण गरिएको छ । २०६७ सालमै स्थापना भएको सङ्ग्रहालय भवनका लागि यही आर्थिक वर्षमा राप्ती नगरपालिकाले पाँच लाख रूपैयाँ बजेट दिएपछि अँधेरो भवनको निर्माण कार्यले पूर्णता पाएको सङ्ग्रहालय निर्माण उपभोक्ता समितिका अध्यक्ष प्रेमबहादुर चेपाङले जानकारी दिए ।
‘यसपटक नगरपालिका बाट आएको बजेटले झ्यालढोका हाल्ने, भवनको भित्तामा रंग लगाउने, कार्पेट ओछ्याउने, जिप्सन राख्नेलगायतको काम भएको छ’, उनले भने, ‘बजेट अभावले अझै पनि बिजुली बत्ती जडान गर्न सकिएको छैन ।’ सङ्ग्रहालयमा बत्ती जोड्नका लागि एउटा पोल आवश्यक परेको हुँदा स्थानीय तहसँग त्यसको माग भइरहेको उनको भनाइ छ ।
त्यसबाहेक पनि चेपाङ जातिले परापूर्वकालदेखि प्रयोग गर्दै आएका विभिन्न औजार तथा घरायसी प्रयोजनका सामग्री संकलनमा पनि बजेटकै अभाव भएको नेपाल चेपाङ संघका केन्द्रीय सदस्यसमेत रहेका समितिका अध्यक्ष चेपाङले बताए । ‘चेपाङ जातिले प्रयोग गर्ने सामग्री खोज्न पहाडी क्षेत्र डुल्नुपर्छ’, उनले भने, ‘त्यसका लागि आवश्यक बजेटको व्यवस्था गर्नुपर्ने छ ।’ यतिखेरलाई बर्खा लागिसकेकोले पहाडतिर जान नसकिने हुँदा बर्खा सकिएपछि ती सामग्री संकलन गर्ने योजना रहेको उनले सुनाए ।
उनका अनुसार चेपाङ जातिले उहिल्यैदेखि प्रयोग गर्दै आएका ३६ प्रकारका विभिन्न सामग्री सङ्ग्रहालयमा राखिने छ । तर, कतिपय सामग्री प्रयोग गर्नै छाडिसकेको हुँदा त्यस्ता सामग्री खोजी गर्न समय लाग्ने उनले बताए । ‘धान कुट्ने काठको हाते मेसिन चलाउनै छाडिसक्यो’, उनले भने, ‘सुर्ती राख्ने बासाको प्रयोग पनि छोडियो । चेपाङ जातिले आफ्नो पहिरन लगाउन पनि करिब–करिब छोडेको जस्तै हो । कुनै पर्व वा विशेष दिनबाहेक अरुबेला लगाउने चलन छैन ।’
सामान बोक्नका लागि प्रयोग गरिने जाबी (जाली)समेत हराइसकेको उनले बताए । ढिकी, जाँतो, डालो, डोको, नाम्लो, घुम (स्याखु)लगायतका सामग्री अहिले पनि प्रयोगमा रहेको उनले बताए । यस्तै यस्तै सामग्रीको संरक्षण गर्न पनि सङ्ग्रहालय आवश्यक परेको उनले बताए । ‘यति नगरे भोलिका पुस्ताले चेपाङ जातिको इतिहास नै बिर्सन सक्छ’, उनले भने, ‘त्यसैले आफ्नो जातिको पहिचानलाई लोप हुन दिन हुँदैन भन्ने उद्देश्यले सङ्ग्रहालय निर्माण गरेका हौँ ।’ उनका अनुसार शिवशक्ति सामुदायिक वनले दिएको करिब १० धुर जमिनमा बनेको उक्त सङ्ग्रहालय भवन निर्माणका लागि हालसम्म करिब १२ लाख रूपैयाँ खर्च भइसकेको छ । चेपाङको मुख्य बसोवास रहेको चितवनमा निर्माण भएको चेपाङ सङ्ग्रहालय यो चौथो हो । उनका अनुसार कालिका नगरपालिकाको शक्तिखोरमा पुरानो सङ्ग्रहालय छ । तर, चेपाङ गाउँनजिक भएर पनि शक्तिखोरको सङ्ग्रहालयमा पूरा सामान राखिएको छैन ।
राप्ती नगरपालिकाका प्रमुख शमशेर लामाले राप्तीमा रहेका सवै चेपाङ्ग समुदायलाइ सम्वोधन हुनेगरी काम गर्ने बताए । उनले चेपाङ्ग समुदायको स्तरउन्नतीको लागी आफुहरुले काम गरिरहेको र अहिले राप्तीको पहाडी क्षेत्र र समथर भुभागमा बस्नुहुने चेपाङ्गहरुको लागी जनता आवास मात्र होइन अन्य शिप मुलक काम गर्ने बताए । उनले समुदायको स्तरउननतीमा नगरपालिकाले लगानी गरेको बताए । नगर उपप्रमुख देवेन्द्र लामाका अनुसार राप्तीको पहाडी क्षेत्रमा घर बनाएर चेपाङ्ग समुदायलाइ घरमा व्यवस्थित गर्ने काम गरिरहेको बताए । अहिले वडाको विभिन्न स्थामा चेपाङ्गको लागी काम गर्ने बताए ।
वडा नं २ का अध्यक्ष श्यामसुन्दर उप्रेतीले वडानै चेपाङ्ग संग्राहलय निर्माण भएकोमा खुशि व्यक्त गरे । उप्रेतीले आगामी दिनमा वडाको समेत बजेटले यसको संरक्षण गर्ने जानकारी दिए ।
राप्ती नगरपालिकाकै वडा नं–६ को प्यारीढापमा पनि सङ्ग्रहालय निर्माण गरिएको छ । तर, त्यहाँ झाँक्री र ढ्याङ्ग्रोको मूर्तिमात्रै राखिएको उनले बताए । रत्ननगर–११, मंगलपुरस्थित गामबेँसीको चेपाङ संरक्षण केन्द्रमा पनि चेपाङ सङ्ग्रहालय छ । उक्त सङ्ग्रहालयमा भने अन्य सङ्ग्रहालयमा भन्दा धेरै सामग्री राखिएको उनले बताए ।