राप्ती । राप्तीका विभिन्न खोलामा नदीजन्य पदार्थको अबैध चोरी तस्करी भएको पाइएको छ । नगरको सिमा क्षेत्र भएर बग्ने पम्फा खोला र दुधकोशी खोलाबाट नदीजन्य पदार्थको अबैध चोरी तस्कारी भएको हो । उक्त दुई नदीबाट उत्खनन् गरि ठाउँठाउँमा डम्पिङ गरिएको छ । सो नगरपालिकामा दिनदहाडै नदीजन्य पदार्थको चोरी तस्करी हुने गरेको छ । नगर भित्रका ठुला नदी र खहरे खोलाबाट दैनिक सयौं टिप नदीजन्य पदार्थ चोरी निकासी हुने गरेको स्थानीयले बताएका छन् । नगर भित्रका नदीहरुबाट अबैध रुपमा उत्खनन् गरिएको ढुंगा र ग्राबेल क्रसर उद्योगमा विक्री गर्ने गरिएको छ । राप्तीमा नदीजन्य पदार्थको दोहोन उत्कर्षमा पुगेपछि राप्ती नगरपालिकाका नगर प्रमुख शमशेर लामा , जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद अधिकारी सहितको जिल्ला अनुगमन समितिले शुक्रबार नदीहरुको अनुगमन गरेको छ । अनुगमनका क्रममा सो नगरपालिकाको पहाडी भेग देखि समथर भूभाग सम्म अबैध उत्खनन् गरिएको ग्रावेल र ढुंगाको डम्पिङ भेटिएको छ । स्थानीय व्यक्तिको जग्गा भाडामा लिएर अबैध नदीजन्य पदार्थ डम्पिङ गरिएको पाइएको जिल्ला समन्वय समितिका प्रमुख अधिकारीले जानकारी दिए । राप्ती वडा नं ७ मदनपुरमा झलक सार्कीको जग्गा भाडामा लिएर गरिएको ग्रावेलको डम्पिङ, सोही वडामा वडाको मदनपुरमा गरिएको ढुंगा र ग्राबेलको डम्पिङ, वडा नं १० समिटारमा गरिएको ढुंगाको डम्पिङ, वडा नं ८ थ्रिग्रुपमा गरिएको ढुंगा र ग्राबेलको डम्पिङ, वडा नं ९ मिनबजारमा गरिएको ढुंगाको डम्पिङ जफत गरि सिल गरिएको प्रमुख अधिकारीले जानकारी दिए । राप्ती नगरपालिकाको बीरेन्द्रनगरमा राजमार्गसंग जोडिएको जयकाली रोडाढंगा उद्योगमा रहेको १७ हजार २०६ घनमिटर ग्राबेल बेचविखन नगर्न अनुगमन टोलीले निर्देशन दिएको छ । अनुगमन टोलीले विभिन्न ठाउँमा डम्पिङ गरिएको २१ हजार ८७ घनमिटर नदीजन्य पदार्थ जफल गरेको हो । जफत गरिएको नदीजन्य पदार्थ स्थानीय सरकारको सम्पतिको रुपमा रहने र उसले बोलपत्र आह्वान गरि विक्री गर्न पाउने कानुनी अधिकार रहेको छ । राप्तीमा नदीजन्य पदार्थको अबैध दोहोन भएको भन्ने सुचनाको अधारमा अनुगमन गर्दा नदी आसपासमा डम्पिङ भेटिएको उनको भनाई छ । जेठ महिनामा सो नगरपालिकाले तीन र सात गरि १० दिन खोला खुल्ला गरेको थिए । अहिले खोला बन्द गरिएको छ तर अबैध रुपमा नदीजन्य पदार्थको अबैध उत्खनन् रोकिएको छैन् । नदीजन्य पदार्थ उत्खनन्मा जनप्रतिनिधिकै संलग्नता रहेको भन्दै नागरिक स्तरबाट विरोध भएपछि राप्ती नगरपालिकाले लेखा समिति संयोजक दीपक अधिकारीको नेतृत्वमा छानविन समिति बनाइएको थियो । तर सो समितिले काम नगरेपछि नदीजन्य पदार्थको अबैध उत्खनन् रोक्न मेयर शमशेर लामा आफै सक्रिय भएर लागेका हुन । नदीजन्य पदार्थको अबैध उत्खनन् रोक्न जिल्ला अनुगमन समितिलाई मेयर लामाले आग्रह गरेका थिए । नदीजन्य पदार्थ उत्खनन्, संकलन र विक्री वितरण सम्बन्धी मापदण्ड २०७७ अन्तर्गत सम्बन्धित पालिकाबाट वातावरण प्रभाव मुल्याङ्कन स्विकृत गरेको निश्चित समयबधि तोकी नदीजन्य पदार्थ उत्खनन् गर्न पाउने कानुनी व्यवस्था रहेको जिल्ला समन्वय अधिकारी चुडामणि शर्मा गौतमले जानकारी दिए । राप्तीमा उक्त प्रावधानमा टेकेर खोला खुलाइएको छैन् उनले भने त्यसो हुँदा डम्पिङमा भेटिएका सामग्री अबैध रहेको ठहर गरिएको छ । राप्तीका मेयर लामाले डम्पिङ गरिएको नदीजन्य पदार्थ जफत गरिएको भन्दै कोही दावा गर्न आए कारबाही सहित जरिवाना गर्ने बताए । अनुगमनमा जिल्ला समन्वय समितिकी उपप्रमुख कल्पना सापकोटा, सदस्यहरु गुनु विक, कृष्णभक्त भट्टराई, राप्ती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निलमकुमार न्यौपाने, सशस्त्र प्रहरी उपरीक्षक शशी पाण्डे, प्रहरी निरीक्षक शहिल बुढाथोकी,जिल्ला समन्वय समितिका इन्जिनियर मन्जु गुरुङ,शाखा अधिकृत अन्तिम सिंजाली मगर सहभागिता रहेका थिए । नगरपालिकामा दाखिला भएको राजश्व र डम्पिङ गरिएको नदीजन्य पदार्थको अनुपात मुल्याङ्कन गरि १० दिन भित्र स्थानीय सरकारले कारबाही प्रक्रिया अगाडि बढाउने छ ।