नेपाल विद्यालय कर्मचारी परिषद् जिल्ला कार्यसमिति चितवनले आइतबारबाट शिक्षा विकास तथा समन्वय इकाई भरतपुर चितवनमामा धर्ना सुरु गरेको छ । विद्यालय कर्मचारीलाई उचित पारिश्रमिकको व्यवस्था हुन नसकेको भन्दै विद्यालय कर्मचारीले धर्ना बसी विरोध जनाएका छन् । संघीय सरकारको नीति तथा कार्यक्रमको बुँदा नम्बर १२७ मा उल्लेख भएको सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुको सेवा सुविधाको व्यवस्था गरिने भन्ने कुराको बेवास्ता गरिएको विद्यालय कर्मचारी परिषद् चितवनका अध्यक्ष सजन मगरले बताए ।
कार्यक्रममा नेपाल शिक्षक महासंघ केन्द्रिय महासचिव गुरु प्रसाद पौडेलले तत्काल बजेटमा बिद्यालय कर्मचारीहरुको तलबमा कायम गरिएन भने निकट भविष्य नेपाल शिक्षक महासंघ केन्द्रिय समितीकै आह्वानमा आन्दोलन गरिने बताए । त्यस्तै धर्ना सम्बन्धी जानकारी पत्र बुझाउदैँ शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख भुमिलाल सुवेदीले बिद्यालय कर्मचारीहरु जायज माग सम्बोधनका लागि संघीय मन्त्रालयमा आजै लिखितम रूपमा पत्र पठाउने बताए । यसका साथै धर्ना कार्यक्रम नेपाल शिक्षक महासंघ चितवन जिल्लामा आबद्ध नेपाल शिक्षक संगठनका उपाध्यक्ष रामजी भण्डारी ,एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष मिना सिम्खडाको उपस्थिति रहेका थिए र उनिहरूले संस्थागत रुपमा आन्दोलन प्रती एक्यवद्धता समेत जाहेर गरेका छन् ।
यस्तै गरि नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिको निर्देशनअनुसार विरोधको कार्यक्रम सुरु गरिएको जिल्ला कार्य समिति चितवनका सदस्य रघु मल्लले जानकारी दिए । सो धर्ना कार्यक्रम जेष्ठ २६ गतेसम्म निरन्तर रहने मल्लले बताए । देशैभर विद्यालयमा कर्मचारीको दरबन्दी नभएको,अस्थायी, करार वा निजी स्रोतमा न्यूनतम पारिश्रमिक समेत नपाएको, पेशागत सुरक्षा र हकहित सुनिश्चित नभएको विद्यालय कर्मचारी लामो समयदेखि आन्दोलित छन् । यसअघिका आन्दोलनका माग समेत पूरा नभएको भन्दै चितवनका विद्यालय कर्मचारी आन्दोलित भएका छन।