राप्ती । चितवन जिल्ला फुटबल संघ (एन्फा) ले राप्ती फुटबल प्रशिक्षण केन्द्रको ग्रासरुट अवलोकन गर्नुका साथै एन्फाले प्रशिक्षण केन्द्रलाई खेलकुद सामाग्री हस्तान्तरण गरेको छ । एन्फाले फुटबल, बिप, मार्कर लगायतको सामाग्री हस्तान्तरण गरेको हो । कार्यक्रममा खेल विकासका लागि आवश्यक कदमका बारेमा छलफल गरिएको थियो । बैशाख १ देखि सञ्चालनमा आएको केन्द्रमा ८६ जना भन्दा बढी प्रशिक्षार्थी रहेका छन् । उनीहरुलाई कसरी पर्याप्त मात्रामा तालिम दिन सकिन्छ भन्नेबारे अन्तरक्रिया कार्यक्रममा भएको थियो । एन्फा चितवन अध्यक्ष श्रीकृष्ण कार्कीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा एन्फा चितवनका प्रशिक्षक सुमन श्रेष्ठ, नगर न्यायिक सदस्य ममिता कुँवर, कानुनी सहजकर्ता विकास मोक्तान र वडा सदस्य राजु तामाङले मन्तव्य राखेका थिए । यस्तै एन्फा चितवन सदस्यहरु गोपाल गुरुङ र शम्भु सुनार, केन्द्रका प्रशिक्षक सुरेन्द्र चौधरी, म्याग्नेट लामा, सुकराम चौधरी, महेन्द्र मल्ल लगायतको कार्यक्रममा उपस्थिति रहेको थियो । राप्ती फुटबल प्रशिक्षण केन्द्रका सचिव प्रदीप कुमार शाहले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन द्वारिका सेढाईले गरेका थिए ।