राप्ती । चितवनको राप्ती नगरपालिका वडा नम्बर ४ द्वारा आयोजित ७ दिने उद्घोषण तालिम सम्पन्न भएको छ । वडामा भएका महिलाहरुको क्षमता अभिवृद्धिको लागि तालिमको आयोजना गरिएको थियो । कार्यक्रमको विशिष्ट अतिथि समेत रहेका राप्ती-५ का वडा अध्यक्ष सिताराम तामाङले महिलाहरुलाई यो तालिम आवश्यक रहेको बताएका छन् । उनले कार्यक्रममा बोल्दै सिकेका कुरालाई व्यवहारमा उतार्न अनुरोध गरेका छन् । कार्यक्रम सञ्चालन गर्न शैलीको आवश्यक पर्ने भन्दै उद्घोषण अहिलेको आवश्यकता रहेको उनले बताएका छन् । यस्तै राप्ती-४ का वडा अध्यक्ष केदार आचार्यले महिलाहरुले चलाएको कार्यक्रमको प्रशंसा गरेका छन् । आफूहरुले ल्याएको कार्यक्रम सफल भएको उनले बताएका छन् । महिलाहरुको लागि आवश्यक अन्य कार्यक्रमहरु पनि ल्याउने उनले बताएका छन् । कार्यक्रमको प्रमुख अतिथि राप्ती नगरपालिकाकी पूर्व नगर प्रमुख प्रभा बरालले बोलीले नै मानिसहरुमा निखार ल्याउने बताएकी छन् । तालिम पश्चात् अब जुनसुकै कार्यक्रम चलाउन सक्ने हुनुपर्ने बरालले बताएकी छन् । कार्यक्रममा कार्यपालिका सदस्य रमिता परियार, वडा सदस्यहरु रमेश श्रेष्ठ, झमक श्रेष्ठ र शान्ति खुलाल, किरातेश्वर टोल विकास संस्थाका अध्यक्ष हेमराज खराल, काशीरुपा आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम प्रसाद तिमल्सिना लगायतको उपस्थिति रहेको थियो । जेष्ठ १६ गते देखि सञ्चालन भएको तालिममा ४० जनाको सहभागिता रहेको थियो । सहभागी शान्ति दाहालले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सहभागीबाटै समिक्षा पौडेलले गरेकी थिइन् । समापन कार्यक्रमको सभाध्यक्ष कार्यक्रम संयोजक रमा पराजुली रहेकी थिइन् ।
Enter
Vishal
