राप्ती नगरपालिकाले अघिल्लो आर्थिक वर्ष अर्थात २०७८/७९ मा खरिद गरेको ट्याबको बिषयमा महालेखाले प्रश्न गरेको छ । गरिब घर परिवार पहिचान कार्यक्रमको लागि खरिद गरिएको ११ वटा
ट्याबको औचित्य पुष्ठि हुन नसकेको महालेखाले जनाएको हो ।
प्रतिबेदन अनुसार जिन्सी निरिक्षण गर्दा १७ वटा ट्याब कार्यालयमा मौज्दात रहेपनी थप ट्याब खरिद गरिएको र स्पेसिफिकेसन तथा लागत अनुमान तयार नगरी सामाग्री सोझै खरिद गरिएको पाइएको हो । यसरी कार्यालयमा सोही सामाग्री पर्याप्त रहेपनी मौज्दात ख्याल नगरी पुन: खरिद गरेर आर्थिक मितव्ययिता अपनाउन नसकेको जनाएको छ । त्यस्तै जिन्सी मौज्दातको भौतिक परिक्षण गर्दा नयाँ खरिद गरिएको ११ वटा ट्याब मध्ये ६ वटा मात्रै र पुरानो मौज्दात रहेको १७ वटा ट्याब मध्ये १२ वटा मात्रै फेलापरेको उल्लेख छ । यसरी नगरपालिका कार्यालयमा हुनुपर्ने ट्याबको संख्या मध्ये १० ओटा कम देखिएको महालेखाको प्रतिबेदनमा उल्लेख छ ।
घटना दर्ता तथा सामाजिक सुरक्षा कार्यक्रममा अपारदर्शीता
नगरपालिकाले संचालन गरेको घटना दर्ता तथा सामाजिक सुरक्षा कार्यक्रममा गरिएको खर्चहरु मितव्ययी नदेखिएको प्रतिबेदनमा उल्लेख छ । जसमा सवारी साधन भाडामा लिदा एकै पटक सम्झौता गरि भुक्तानी दिदा आर्थिक मितव्ययिता हुने भएपनी पटक पटक र फरक फरक सवारीसाधन भुक्तानी दिइएको छ । त्यस्तै सोही कार्यक्रमको लागि खाजा, खाना र आवासको लागि ४६ हजार भुक्तानी भएको भर्पाइ पेस भए पनि बिल पेश गरिएको छैन । साथै एकै प्रकारको सवारीसाधन भाडामा लिदा फरकफरक दर रेट उल्लेख भएको र केही सवारिसाधनलाई भुक्तानी दिदा सवारिको प्रकार , भाडादर उल्लेख नगरिएको पाइएको छ ।