खैरहनी । खैरहनीमा विद्युत पोल विस्तारको लागि पहल राप्ती नगरपालिकाका पूर्व उपमेयर इमानसिंह लामा जनप्रतिनिधि नहुँदा पनि सामाजिक कार्यमा सक्रिय छन । आफू उपमेयर हुँदा वृद्धवृद्धा दीर्घरोगी तथा विपन्न वर्गका साहारा बनेका लामा अहिले पनि समाजसेवामा उत्तिकै सक्रिय छन । पहिले जस्तै मृगौला पिडित तथा दीर्घरोगीहरुलाई अस्पताल लाने र ल्याउन गर्नु उनको दैनिकी जस्तै हो । खाली समयमा बिरामीको घरमा हालखबर बुझ्न उनी पुगिहाल्छन र सकेको सहयोग गर्छन । उनै इमानसिंह लामाले खैरहनीमा विद्युत पोलको लागि पहल गरेका छन । खैरहनी नगरपालिका वडा नम्बर ११ मा अझसम्म पनि पोल विस्तार हुन सकेको थिएन । लामाले दरै संग्रहालय क्षेत्र, पिद्रहनी, उप्रेती टोल, दरै चोक, सिद्धार्थ चोक, त्रिपुरेश्वर मन्दिर चोक र कप्तान चोकमा पोल विस्तारको लागि पहल गरेका छन । सो क्षेत्रलाई आवश्यक पर्ने पोलमध्ये पहिलो चरणको लागि २० थान पोल उनले पहल गरेका हुन । उनीले विद्युत प्राधिकरणसँग समन्वय गरेर पोल विस्तारको लागि सहयोग गरेका हुन । फिल्ड सर्भेको लागि भण्डारा विद्युत प्राधिकरणका प्रमुख मनोज श्रेष्ठ पनि साथमा रहेका थिए । खैरहनी–११ का वडा अध्यक्ष दिपेन्द्र दरैले अझैपनि केहि ठाउँमा विद्युत पुग्न नसकेको बताए । लामासँगको सहयोग र सहकार्यबाट नै पोल विस्तार गर्न सकिएको उनले बताएका छन । सबैको सहयोगले नै पोल विस्तार हुन सकेको लामा बताउँछन । इन्जिनियरले सर्वे गरेर वडाको सिफारिस पश्चात टाँडीको हाकिमसँग अनुरोध गरेपछि पोलको काम अगाडि बढेको उनले बताए । धेरै बर्ष पश्चात विद्युत विस्तार हुनेपछि स्थानीय हर्षित छन । टाढा पोल भएकोले बाँसको पोल बनाएर विद्युत लान बाध्य भएको स्थानीय सुक बहादुर तामाङले बताए ।