कान्दामा स्थानिय सरकार पुग्यो – बाटो बनाउन स्थानिय माग

राप्ती । राप्ती नगरपालिकाको सबैभन्दा विकट मानिने कान्दाको विकासका लागि स्थानीय सरकारले चासो देखाएको छ । त्यहाँको वस्तुगत स्थितिबारे जानकार भए पनि स्थलगतरुपमा अवस्था बुझ्न नगरप्रमुख शमशेर लामा, उपप्रमुख देवेन्द्र लामा, स्वास्थ्य शाखा प्रमुख सुरेश न्यौपाने, पत्रकारसहितको टोली कान्दा पुगेको हो । अवस्था बुझ्न उनीहरु त्यहाँ खाली हात गएनन्, केही कोसेली बोकेर पुगेका थिए ।
कान्दामा अहिलेसम्म स्थानीय सरकारबाट कुनै सेवासुविधा तथा योजना पुग्न सकेको छैन । त्यसैले पनि नगरप्रमुख र उपप्रमुख खाद्यान्न, तरकारीका बीउ वितरण, नेपाल टेलिकमको फोर जी सेवाका लागि आवश्यक डिभाइस सहित एकीकृत स्वास्थ्य शिविर आयोजनाका साथ पुगेका थिए ।
कान्देश्वरी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि एक लाखबराबरको ६१ बोरा चामल, इन्टरनेटका लागि राउटर, दलहन बालीका लागि बीउ प्रदान गरियो भने एकीकृत स्वास्थ्य शिविरसमेत आयोजना गरिएको छ । गैरसरकारी संस्थाले स्वास्थ्य शिविर आयोजना गरे पनि सरकारतर्फबाट भने यो पहिलो शिविर हो । कान्देश्वरी विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि लक्ष्मी प्रतिष्ठानले छात्रावास निर्माण गरेर आवासीय सुविधा प्रदान गरेको छ ।
कान्दा नगरकै विकट ठाउँ भएकाले विकासका लागि गर्न सकिने कामका बारे अध्ययन गर्न आफूहरु त्यहाँ पुगेको नगरप्रमुख शमशेर लामाले बताए । ‘निर्वाचित भएको पहिलो वर्षमै कान्दा पुग्न सक्यौँ’, नगरप्रमुख लामाले भने, ‘बाटो, बिजुली पुग्न नसक्दा कष्टकर जीवन भोग्नु परेको अवस्था पायौँ, अब स्थानीय सरकारले यस ठाउँको विकासमा ध्यान दिनेछ ।’
कान्दामा बिजुलीको साटो सोलार प्रयोग गरिएको छ । त्यहाँ पुग्न करिब ४ घन्टा पैदलयात्रा गर्नुपर्छ । भण्डाराबाट करिब २ घन्टाको गाडीको यात्रापछि कालिटारसम्म पुग्न सकिन्छ । त्यहाँबाट पैदल हिँडेर पहाड छिचोल्दै कान्दा पुग्नुपर्छ ।
खाद्यान्नका लागि चार–पाँच घन्टा हिँड्न पर्नु विडम्बना रहेको भन्दै नगरप्रमुख लामाले त्यसको अन्त्यका लागि आफूहरु गम्भीर भएर लाग्ने बताए । ‘यहाँ बाटो ल्याउन हामीलाई जिम्मेवारी आएको महसुस गरेका छौँ’, नगरप्रमुख लामाले भने, ‘सके यो वर्षै, नभए अर्को बजेटमार्फत यहाँ योजना पारेर काम सुरू हुनेछ । विषालु च्याउ खाएर एकै घरका ८ जनाको निधन भएपछि कान्दाको वास्तविक समस्या बाहिर आएको थियो । त्यसबेलादेखि मितेरी फाउन्डेसन र लक्ष्मी प्रतिष्ठानले स्थानीय लाभान्वित हुने गरी काम गर्दै आएका छन् ।
यो क्षेत्रमा बाटो र शिक्षालाई बढी प्राथमिकता दिनुपर्ने देखिएको राप्ती नगरपालिका उपप्रमुख देवेन्द्र लामाले बताए । ‘यो ठाउँको विकासमा के–के गर्नुपर्ने भन्ने विषय पैदलयात्राकै क्रममा पायौँ’, उपप्रमुख लामाले भने, ‘स्थानीयले भोग्नु परेको समस्यालाई पूरा गर्ने सङ्कल्प गरेका छौँ, केही समय धैर्य गरेर बस्नुस् ।’
राज्यले गर्नुपर्ने काम गैरसरकारी संस्थाले गरेकामा धन्यवाद दिँदै उपप्रमुख लामाले अब स्थानीय सरकारले जिम्मेवारी लिएर शिक्षालगायत अन्य क्षेत्रमा काम गर्ने प्रतिबद्धता जनाए । शिक्षाको सुधारका लागि नगरपालिकाले काम सुरू गरिसकेको भन्दै गुणस्तरीय शिक्षा र सबैमा शिक्षाको सहज पहुँच पु¥याउने उनले बताए ।

बिजुली चाहिँदैन, बाटो र शिक्षा देऊ
कान्दाका स्थानीयले बाटो र शिक्षालाई प्राथमिकता दिएर काम गर्न स्थानीय सरकारको ध्यानाकर्षण गराए । उनीहरुले बरू बिजुली नचाहिने तर बाटो र शिक्षालाई सहज पहुँचमा पु¥याउन आग्रह गरे । कान्दामा नगरप्रमुख र उपप्रमुखले स्थानीयसँग गरेको अन्तक्र्रिया कार्यक्रममा उनीहरुले तत्काल बाटो विस्तार गर्नुपर्ने बताएका हुन् ।
स्थानीय सीताबहादुर प्रजाले बाटोको असुविधाले यहाँका जनताले सास्ती खेप्नु परेको बताए । ‘बाटो नहुँदा यहाँका जनताले भोग्नु परेको पीडा भोग्नेलाई मात्र थाहा छ’, प्रजाले भने, ‘बाटोलाई प्राथमिकता दिन सरकारलाई आग्रह गर्दछु ।’
कान्देश्वरी आधारभूत विद्यालयको व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका कृष्ण प्रजाले बिजुली नचाहिने भन्दै कान्दालाई बाटोले छुनुपर्ने नगरप्रमुख, उपप्रमुखसमक्ष आवाज उठाए । ‘कुनै काम लिएर तल झर्दा रात बिताउनुपर्छ, खर्च धेरै हुन्छ, खर्च व्यवस्थापन गर्न सकिँदैन’, प्रजाले भने, बाटो भए बिहान गएर बेलुका फर्कन सकिने थियो, यसमा सरकार गम्भीर बनोस् ।’ अर्का स्थानीय श्रीप्रसाद प्रजाले ट्रयाकमात्रै खोलिदिए पनि राहत मिल्ने गुनासो गरे । ‘यहाँ तरकारी उत्पादन राम्रो हुन्छ, बजार पु¥याउन समस्या छ’, श्रीप्रसादले भने, ‘बाटो नहुँदा उत्पादित तरकारी यसै खेर गइरहेको छ, बाटो बने हाम्रो आयआर्जनमा मद्दत पुग्नेथियो ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार